काठमाडौं-प्रभु बैंक लिमिटेडले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि २ करोड ११ लाख ११ हजार १११ रुपैयाँ आर्थिक सहयोग गरेको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुमन शर्माले अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा उक्त रकम नेपाल सरकारको ‘प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष’ मा जम्मा हुने गरी अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई चेक हस्तान्तरण गरेका हुन्।
२०८३ भदौ १० गते रसुवा जिल्लाबाट बग्ने भोटेकोशी नदीमा आएको आकस्मिक बाढीले भोटेकोशी तथा त्रिशुली नदी किनारका बासिन्दामा ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको थियो। सोही विपद्पछि पीडित परिवारलाई सहयोग पुर्याउने तथा खोज, उद्धार र राहत कार्यलाई थप प्रभावकारी बनाउन बैंकले आर्थिक सहयोग उपलब्ध गराएको जनाएको छ।
चेक हस्तान्तरण कार्यक्रममा प्रभु बैंकका अध्यक्ष किशोरजंग कार्की, सञ्चालक राजु पौडेल तथा सञ्चालक डा. अम्बिका शर्मा लामिछानेको समेत उपस्थिति रहेको थियो।
प्रभु बैंकले विपद्का कारण ज्यान गुमाएका स्वदेशी तथा विदेशी नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै सम्पर्कविहीन तथा घाइतेहरूको शीघ्र उद्धार र उपचारको कामना गरेको छ। साथै प्रभावित समुदायप्रति गहिरो समवेदना प्रकट गर्दै विपद् व्यवस्थापनमा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।


प्रतिक्रिया