रसुवा-रसुवामा परीक्षण सञ्चालन भइरहेको २० मेगावाट क्षमताको लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि सम्पर्कविहीन भएका दुई जना कर्मचारीको शव भेटिएको छ।
आयोजना निर्माण गरेको मल्टी इनर्जी डेभलपमेन्ट प्रालिका प्रवर्द्धक सुदीप आचार्यका अनुसार भर्खरै दुई जना कर्मचारीको शव फेला परेको जानकारी प्राप्त भएको हो। शवको सनाखतलगायतका प्रक्रिया भने बाँकी रहेको उनले बताए।
आचार्यका अनुसार आयोजनाको सुरुङ बन्द भइसकेको अवस्थामा रहेकाले सुरुङभित्र कर्मचारी फसेको अवस्था नरहेको र सुरुङ तथा पावरहाउसबीचको पेनस्टक पाइपमा काम भइरहेका बेला बाढीको घटना भएको हो।
‘दुई जनाको शव भेटियो भन्ने खबर आएको छ भर्खरै। हाम्रै कर्मचारीहरू हुनुहुन्छ,’ आचार्यले बताए।
लाङटाङ खोला जलविद्युत् आयोजनामा बाढीपछि अझै ३९ जना सम्पर्कविहीन रहेका छन् भने १९ जनाको उद्धार गरिएको जनाइएको छ। शव भेटिएसँगै घटनामा बेपत्ता कर्मचारीको खोजी तथा उद्धार कार्य थप संवेदनशील बनेको छ।


प्रतिक्रिया