काठमाडौं-प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता वर्षमान पुनले आज भेटवार्ता गरेका छन्। भदौ १८ गते बिहीबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाह र नेता पुनबीच भेटघाट भएको हो।
भेटमा उनीहरूबीच भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढी र त्यसपछिको खोज, उद्धार, उपचार, राहत वितरणलगायत विषयमा कुराकानी भएको प्रधानमन्त्री शाहको सचिवालयले जनाएको छ।
भेटका क्रममा बाढीबाट प्रभावित नागरिकलाई राहत उपलब्ध गराउने कार्यलाई प्रभावकारी बनाउने तथा प्रभावित क्षेत्रमा भइरहेको उद्धार तथा पुनःस्थापनाको अवस्थाबारे समेत कुराकानी भएको बताइएको छ।
प्रधानमन्त्री शाह र नेता पुनबीच बाढीका कारण क्षति पुगेका सडक, पुल तथा अन्य महत्वपूर्ण पूर्वाधारलाई पुनः सञ्चालनमा ल्याउने उपायबारे पनि विचार–विमर्श भएको थियो।
यसअघि आजै प्रधानमन्त्री शाहसँग उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पनि भेट गरेका थिए। उक्त भेटमा समेत भोटेकोशी बाढीबाट उत्पन्न परिस्थिति, राहत, उद्धार तथा पुनःनिर्माणका विषयमा छलफल भएको जनाइएको छ।


प्रतिक्रिया