काठमाडौं-नेपाली कांग्रेसका सांसद भरत खड्का प्रतिनिधिसभाको बैठक चलिरहेका बेला एकाएक बेहोस भएर ढलेका छन्।
बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेका बेला आफ्नो सिटमा बसिरहेका सांसद खड्का अचानक ढलेका हुन्। उनी लडेलगत्तै कांग्रेसका अन्य सांसदहरू उनलाई सहयोग गर्न र उठाउन दौडिएका थिए।
घटनापछि सभामुख डोलप्रसाद अर्यालले सांसद शर्माको सम्बोधन बीचमै रोक्दै बैठकको ध्यान उक्त घटनातर्फ केन्द्रित गरेका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार उच्च रक्तचाप (ब्लड प्रेसर) का कारण सांसद खड्काको स्वास्थ्यमा समस्या देखिएको हो। हाल उनको संसद् भवनभित्र रहेको स्वास्थ्य इकाइमा उपचार भइरहेको छ।
सांसद खड्काको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको सचिवालयले जनाएको छ।


प्रतिक्रिया