काठमाडौं-प्रतिनिधि सभा बैठक चलिरहेका बेला एकाएक ढल्न पुगेका नेपाली कांग्रेसका सांसद तथा सार्वजनिक लेखा समितिका सभापति भरत खड्कालाई उपचारका लागि वीर अस्पताल लगिएको छ।
बिहीबार बसेको प्रतिनिधि सभा बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सोम शर्मा बोलिरहेका बेला खड्का आफू बसेकै कुर्सीबाट अचानक लडेका हुन्। अचानक लडे लगत्तै सभामुखले सांसद शर्माको सम्बोधन रोक्दै केहीबेरका लागि सदनको कारबाही स्थगित गरेका थिए। त्यसपछि संसद् भवनमा रहेका सांसद तथा कर्मचारीले खड्काको उद्धार गरी संसद् सचिवालयको स्वास्थ्य इकाइमा पुर्याएका थिए।
संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार स्वास्थ्य इकाइमा प्रारम्भिक उपचारपछि खड्कालाई थप उपचारका लागि एम्बुलेन्समार्फत वीर अस्पताल लगिएको छ। प्रारम्भिक स्वास्थ्य परीक्षणमा उनको रक्तचाप असामान्य रहेको र ग्लुकोजको मात्रा पनि बढी देखिएको बताइएको छ।
डोटीबाट निर्वाचित सांसद खड्कालाई उच्च रक्तचापका कारण चक्कर आएर ढलेको प्रारम्भिक अनुमान गरिएको छ। संसद् सचिवालय स्रोतका अनुसार उनको रक्तचाप १६० पुगेको थियो।
हाल उनको स्वास्थ्य अवस्थाबारे थप विवरण आउन बाँकी रहेको छ।


प्रतिक्रिया