काठमाडौँ-नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत् आयोजनाका टनेलमा फसेका नागरिकको यथाशीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै उनले टनेलमा फसेकाहरूको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराएका हुन्।
संसद्मा सम्बोधन गर्दै महरले विपद्को यस कठिन घडीमा आफ्नो दल सरकारलाई निःसर्त साथ दिन तयार रहेको बताए। उनले राष्ट्रिय संकटको सामना एकताबद्ध भएर गर्नुपर्ने आवश्यकता औँल्याउँदै शोकलाई शक्तिमा बदल्नुपर्ने धारणा राखे।
उद्धारको पर्खाइमा रहेका नागरिकप्रति चिन्ता व्यक्त गर्दै उनले निर्माणाधीन जलविद्युत् आयोजनाका टनेलहरूमा अझै पनि नागरिक फसिरहेको अवस्था रहेको बताए। महरले आफ्नै गृह जिल्ला बझाङका दुई जना इन्जिनियरसमेत टनेलभित्र फसेको र उनीहरूको अवस्था अझै अज्ञात रहेको जानकारी गराउँदै खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरे।
‘हामी सबै सरकारको साथमा छौँ। हामी निःसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहन्छौँ। यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौँ,’ उनले संसद्मा भने।
महरले बाढी प्रभावित क्षेत्रका नागरिकको स्वास्थ्य अवस्थाप्रति पनि सरकार गम्भीर हुनुपर्नेमा जोड दिए। प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, राहत र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न उनले सरकारसँग आग्रह गरेका छन्।


प्रतिक्रिया