काठमाडौँ-प्रतिनिधिसभाको बैठक ६ दिनका लागि स्थगित भएको छ। सभामुख डोलप्रसाद अर्यालले बिहीबारको बैठकपछि सदनको बैठक भदौ २४ गतेसम्मका लागि स्थगित गरेका हुन्।
सिंहदरबारस्थित भवनमा बसेको बैठकमा सांसदहरूले रसुवा, नुवाकोट र धादिङमा बाढीले पुर्याएको क्षति, उद्धारमा भएको ढिलासुस्ती, सुरुङमा फसेका श्रमिकहरूको अवस्था र ग्रीन आर्मीको वैधानिकता लगायतका समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका थिए ।
सभामुख अर्यालले प्रतिनिधि सभाको अर्को बैठक यही भदौ २४ गते दिउँसो १ बजे बस्ने जानकारी गराए । बैठकमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले नेपाल भारतबिच दीर्घकालीन विद्युत् व्यापार गर्ने सम्बन्धी सम्झौता पेस गरे।
त्यस्तै, कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले संयुक्त राष्ट्रसङ्घीय सामुद्रिक कानुनसम्बन्धी महासन्धि अन्तर्गतको राष्ट्रिय क्षेत्राधिकारभन्दा बाहिरका क्षेत्रको सामुद्रिक जैविक विविधताको संरक्षण र दिगो प्रयोगसम्बन्धी सम्झौता पेस गरिन् ।


प्रतिक्रिया