काठमाडौँ-नेकपा (एमाले)का सांसदहरूले २०८३ भदौ १० गते बुधबार रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनालाई प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्। भदौ १८ गते बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले सांसदहरूले विशेषगरी जलविद्युत् आयोजनाका सुरुङमा फसेका निर्माणकर्मी तथा प्राविधिकको तत्काल उद्धार गर्न माग गरेका हुन्।
टनेलमा फसेकाको उद्धारमा सरकार चुक्यो: गुरुप्रसाद बराल

एमाले सांसद गुरुप्रसाद बरालले भोटेकोशी बाढीपछि प्रभावित नागरिकको उद्धार तथा राहत वितरणमा सरकारले गरेको प्रयासको प्रशंसा गरे पनि जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको उद्धारमा भने सरकार गम्भीर रूपमा चुकेको बताएका छन्।
निर्माण क्षेत्रमा काम गरिरहेका कम्पनी तथा प्राविधिक जनशक्तिलाई सुरुदेखि नै उद्धार अभियानमा सहभागी गराउन सके धेरै नागरिकको ज्यान जोगाउन सकिने अवस्था रहेको सांसद बरालले बताए।
‘सरकारले जेजति गरेको छ, त्यसका लागि धन्यवाद दिनुपर्छ। तर विद्युत् आयोजनाको टनेलमा फसेका निर्माणकर्मी र प्राविधिकहरूको उद्धारमा सरकार गम्भीर रूपमा चुकेको छ,’ सांसद बरालले भने।
सांसद बरालले बाढीपछिको राहत, पुनःस्थापना र पुनर्निर्माणलाई प्रभावकारी तथा पारदर्शी बनाउन उच्चस्तरीय सर्वदलीय संसदीय समिति गठन गर्नसमेत सरकारसँग माग गरे। विपद्पछिको व्यवस्थापन, राहत वितरण तथा पुनर्निर्माणका कामको नियमित अनुगमन र मूल्याङ्कनका लागि यस्तो संयन्त्र आवश्यक रहेको उनले बताए।
टनेलमा फसेकाको जीवनरक्षा पहिलो प्राथमिकता हो: ऐन महर

एमालेका प्रमुख सचेतक ऐन महरले निर्माणाधीन जलविद्युत् आयोजनाका सुरुङमा फसेका नागरिकको यथाशीघ्र उद्धार गर्न सरकारसँग आग्रह गरेका छन्। प्रमुख सचेतक महरले टनेलमा फसेकाहरूको जीवनरक्षालाई पहिलो प्राथमिकतामा राख्न सरकारको ध्यानाकर्षण गराए।
विपद्को कठिन घडीमा आफ्नो दल सरकारलाई निःसर्त साथ दिन तयार रहेको बताउँदै सचेतक महरले राष्ट्रिय संकटको सामना एकताबद्ध भएर गर्नुपर्ने धारणा राखे। उनले अहिलेको शोकलाई शक्तिमा बदल्नुपर्ने बताए।
आफ्नो गृह जिल्ला बझाङका दुई जना इन्जिनियरसमेत सुरुङभित्र फसेको र उनीहरूको अवस्थाबारे अझै जानकारी हुन नसकेको उल्लेख गर्दै महरले खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन सरकारसँग माग गरे।
‘हामी सबै सरकारको साथमा छौँ। हामी निःसर्त सरकारलाई साथ दिन चाहन्छौँ र यो संकटको सामना गर्न चाहन्छौँ। यो शोकलाई हामी शक्तिमा बदल्न चाहन्छौँ,’ प्रमुख सचेतक महरले भने।
महरले बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा, राहत र पुनःस्थापनाका कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्नसमेत सरकारसँग आग्रह गरे।
एकद्वार प्रणालीका कारण जनता भोकै छन्: यशोदाकुमारी बराल

एमाले सांसद यशोदाकुमारी बरालले रसुवा बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि सरकारले अपनाएको एकद्वार प्रणालीका कारण प्रभावित नागरिकले पर्याप्त राहत पाउन नसकेको बताइन्।
बाढीमा परी सम्पर्कविहीन भएका आफन्तको खोजीका लागि प्रभावित क्षेत्रमा पुगेका नागरिकले समेत उचित राहत तथा खाना पाउन नसकेको भन्दै उनले सरकारको ध्यानाकर्षण गराइन्।
‘सरकारले बाढी प्रभावित क्षेत्रमा राहत वितरणका लागि अपनाएको एकद्वार प्रणालीका कारण जनता भोकै छन्। यस विषयमा सरकारले ध्यान दिनुपर्छ। नागरिकभन्दा ठूलो कुनै सरकार र व्यक्ति हुन सक्दैन,’ सांसद बरालले भनिन्।
प्रविधिको अभाव देखाएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताउँदै बरालले सुरुङभित्र फसेका नागरिक अझै जीवितै रहेको आशा व्यक्त गरिन्। उनले खोज तथा उद्धार कार्यलाई तीव्रता दिन सरकारसँग आग्रह गरिन्।
सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका नागरिकको खानपान तथा आधारभूत आवश्यकताको तत्काल व्यवस्था गर्नुपर्नेमा पनि उनले जोड दिइन्।
‘प्रविधि छैन भनेर सरकारले हात उठाउन पाउँदैन। सुरुङभित्र रहेका नागरिक अहिले पनि जीवितै हुनुहुन्छ भन्ने आशा छ। कर्णालीका केही नागरिकले भागेर ज्यान जोगाउनुभएको छ, उहाँहरूसँग मेरो भेट पनि भएको थियो। तर सम्पर्कविहीन आफन्तको खोजीमा प्रभावित क्षेत्रमा पुगेका नागरिकले खान पाएका छैनन्, यसमा सरकारको ध्यानाकर्षण गराउन चाहन्छु।’
यसरी प्रतिनिधिसभा बैठकमा एमालेका तीनै सांसदले बाढीपीडितको उद्धार, सुरुङमा फसेका नागरिकको जीवनरक्षा, राहत वितरण, स्वास्थ्य सेवा तथा पुनःस्थापनालाई तत्काल प्रभावकारी बनाउन सरकारको ध्यानाकर्षण गराएका छन्।


प्रतिक्रिया