अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाढीको विपद् व्यवस्थापनमा सरकार चुक्यो: पद्मा अर्याल

बाढीको विपद् व्यवस्थापनमा सरकार चुक्यो: पद्मा अर्याल


काठमाडौँ-नेकपा (एमाले) संसदीय दलकी उपनेता पद्मा अर्यालले भोटेकोशी बाढीपछि खोज, उद्धार तथा राहत कार्यमा सरकारले प्रभावकारी भूमिका निर्वाह गर्न नसकेको आरोप लगाएकी छन्।

संसद् भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै अर्यालले सरकारले समयमै अन्तर्राष्ट्रिय सहयोग तथा अत्याधुनिक उद्धार उपकरण परिचालन गर्न नसक्दा ठूलो मानवीय क्षति भएको बताइन्।

उनले प्रधानमन्त्रीले हालै दिएको ‘हिलो पन्छाउने मेसिन संसारमै छैन’ भन्ने अभिव्यक्तिको समेत खण्डन गरिन्। विश्वबजारमा हिलो तथा लेदो हटाउन प्रयोग हुने अत्याधुनिक र शक्तिशाली उपकरण उपलब्ध रहेको दाबी गर्दै अर्यालले तथ्यहीन अभिव्यक्ति दिएर सरकार आफ्नो जिम्मेवारीबाट पन्छिन नहुने बताइन्।

जलविद्युत् आयोजनाका सुरुङभित्र लेदो पसे पनि पावरहाउसका भित्री संरचना सुरक्षित रहेको हुनसक्ने र त्यहाँ मानिसहरू जीवितै रहेको सम्भावना रहन सक्ने भन्दै उनले विशेष उद्धार टोली परिचालन गर्न सरकारसँग माग गरिन्।

अर्यालले बेपत्ताहरूको खोजी, शवको पहिचान तथा परिवारलाई हस्तान्तरण गर्ने कार्यलाई सरकारले उच्च प्राथमिकतामा राख्नुपर्ने बताइन्।

एमालेले राहत तथा उद्धार कार्यमा सरकारलाई असहयोग गरेको भन्ने आरोपको पनि उनले खण्डन गरिन्। उनका अनुसार एमालेले राहतका लागि एक करोड रुपैयाँ राज्यको कोषमा जम्मा गर्ने निर्णय गरिसकेको छ।

यसैगरी, ‘ग्रीन आर्मी’ नाम दिइएको समूह परिचालनप्रति पनि अर्यालले आपत्ति जनाइन्। नेपाली सेनाको जस्तै पोसाक लगाएको शङ्कास्पद समूह परिचालन गर्नुको औचित्यमाथि प्रश्न उठाउँदै उनले विपद्को अवस्थामा नेपाली सेनामाथि नै विश्वास गरेर उद्धार तथा राहत कार्यमा परिचालन गर्नुपर्ने धारणा राखिन्।

अर्यालले विपद्पछिको पुनस्र्थापना तथा पुनर्निर्माणका लागि सरकारले तत्काल तीनवर्षे गुरुयोजना ल्याउनुपर्ने मागसमेत गरिन्। उनका अनुसार प्रभावित क्षेत्रको पुनस्र्थापना, पुनर्निर्माण र पीडित परिवारको व्यवस्थापनलाई योजनाबद्ध रूपमा अघि बढाउन आवश्यक छ।