नुवाकोट-भोटेकोशी बाढीपछि त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका व्यक्तिहरूको खोजी तथा उद्धारमा आशालाग्दो संकेत देखिएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद श्रीराम न्यौपानेले सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको बताएका छन्। उनका अनुसार उद्धारमा खटिएको नेपाली सेनाको टोलीले सुरुङभित्रबाट मानिसको आवाज आएको जानकारी दिएपछि खोज तथा उद्धार कार्यलाई थप तीव्रता दिइएको हो।
हाल नेपाली सेना र सशस्त्र प्रहरीको विशेष उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यमा जुटिरहेको न्यौपानेले बताएका छन्। सुरुङभित्रबाट मानिसको आवाज सुनिनु उद्धारका लागि आशाजनक संकेत भएको उनको भनाइ छ।
कार्यस्थलमै रहेर खोज तथा उद्धारमा संलग्न रहेका सांसद न्यौपानेले सामाजिक सञ्जालमार्फत सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त भएको उल्लेख गर्दै नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले उद्धार कार्यलाई तीव्रता दिइरहेको बताएका छन्।
न्यौपानेले आफू हिजो साँझसम्म इन्जिनियरको भूमिकामा रहेर साइटमै खोज तथा उद्धार कार्यमा संलग्न भएको र अब सांसदको हैसियतमा हेलिकप्टर प्रयोग नगरी पैदल जनसंवाद गर्दै विदुर पुग्ने तथा त्यहाँबाट गाडीमार्फत काठमाडौं फर्कने तयारीमा रहेको बताएका छन्।
उनले उद्धारमा खटिएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति सम्मान व्यक्त गर्दै सुरुङभित्र फसेका सबै व्यक्तिको सकुशल उद्धार हुने विश्वास व्यक्त गरेका छन्।
‘उद्धार कार्यमा खटिनुभएका नेपाली सेना, सशस्त्र प्रहरी, प्राविधिक टोली तथा सम्पूर्ण उद्धारकर्मीप्रति हार्दिक सम्मान व्यक्त गर्दछु। आशा छ, सकुशल उद्धारको सुखद खबर छिट्टै सुन्न पाइनेछ,’ न्यौपानेले भनेका छन्।



प्रतिक्रिया