काठमाडौँ-रसुवाको बाढीग्रस्त त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङबाट जीवितै उद्धार गरिएका दुई जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।
नेपाली सेना र सशस्त्र प्रहरी बल नेपालको संयुक्त उद्धार टोलीले बाढी आएको १०औँ दिनमा आयोजनाको सुरुङबाट ३० वर्षीय मेकानिकल फोरम्यान सञ्जय साह र ४५ वर्षीय मेकानिकल सुपरभाइजर कबीर महर्जनलाई जीवितै उद्धार गरेको हो।
उद्धारपछि दुवै जनालाई प्राथमिक उपचार गरिएको थियो। उनीहरूको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। प्राथमिक उपचारपछि थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं ल्याइएको हो।
सुरुङभित्रबाट थप आवाज सुनिएपछि उद्धार टोली सुरुङभित्र प्रवेश गरेको सशस्त्र प्रहरीले जनाएको छ। उद्धार गरिएका साह र महर्जन त्रिशूली–३ ‘ए’ आयोजनामा क्रमशः मेकानिकल फोरम्यान र मेकानिकल सुपरभाइजरका रूपमा कार्यरत थिए।


प्रतिक्रिया