अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’

बीपी राजमार्ग अवरुद्ध भएपछि सवारीसाधन धुलिखेलमा ‘होल्ड’


काठमाडौं-अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण बीपी राजमार्ग अवरुद्ध भएपछि पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेल चोकमा होल्ड गरिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार बीपी राजमार्गअन्तर्गत नमोबुद्ध-६ को चौकीडाँडा, रोशी-७ को चारसयवेशी, रोशी-८ को गिम्दीवेशी र रोशी-११ को माम्तीमा पहिरो खसेपछि सडक पूर्णरूपमा अवरुद्ध भएको हो ।

चौकीडाँडा क्षेत्रमा रोशी खोलाले डाइभर्सनसमेत कटान गरेको प्रहरीले जनाएको छ। लगातार वर्षा भइरहेकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउन समय लाग्ने बताइएको छ।

बीपी राजमार्ग अवरुद्ध भएपछि काठमाडौंबाट धुलिखेल हुँदै पूर्वतर्फ जाने सवारीसाधनलाई धुलिखेलमा रोकिएको जिल्ला प्रहरी प्रमुख एसपी रविन कार्कीले जानकारी दिए। उनका अनुसार काभ्रेभञ्ज्याङ र भकुण्डे क्षेत्रमा समेत सवारीसाधन होल्ड गरिएको छ ।

प्रहरीले सडकको अवस्था पूर्णरूपमा जानकारी लिएर मात्र यात्रा गर्न यात्रु तथा चालकलाई अनुरोध गरेको छ ।

यसैबीच, लगातारको वर्षा र पहिरोका कारण नारायणगढ–मुग्लिन सडकखण्डमा समेत सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । जिल्ला प्रशासन कार्यालय चितवनले शुक्रबार बिहान सूचना जारी गर्दै अर्को सूचना नभएसम्मका लागि उक्त सडकखण्डमा सवारीसाधन सञ्चालनमा रोक लगाएको जनाएको छ ।