अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मनोहरा र हनुमन्तेमा बाढीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह

मनोहरा र हनुमन्तेमा बाढीको सतह बढेपछि सतर्कता अपनाउन आग्रह


काठमाडौँ-काठमाडौँ र भक्तपुरको सीमाबाट बग्ने मनोहरा तथा हनुमन्ते खोलामा बाढीको सतह बढेपछि स्थानीय प्रशासनले जोखिम क्षेत्रका बासिन्दालाई सचेत गराउन माइकिङ सुरु गरेको छ।

लगातारको वर्षाका कारण खोलामा पानीको बहाव बढेपछि प्रहरीले शुक्रबार बिहानदेखि खोला किनार तथा आसपासका बस्तीमा माइकिङ गर्दै सुरक्षित स्थानमा जान आग्रह गरेको हो।

मनोहरा खोलाको पानीको सतह यसअघि पनि बढ्दा खोला किनारमा टहरा तथा घर बनाएर बसोबास गर्दै आएका स्थानीयलाई सुरक्षित स्थानमा सारिएको थियो। गत साता पानीको सतह बढेपछि उनीहरू भक्तपुरको लोकन्थली हाइट क्षेत्रमा पुगेका थिए।

काठमाडौँ उपत्यकामा बिहीबार दिउँसोदेखि निरन्तर वर्षा भइरहेको छ। वर्षाका कारण मनोहरा र हनुमन्ते खोलामा पानीको बहाव बढ्दै गएपछि काठमाडौँको कागेश्वरी मनोहरा तथा भक्तपुर र सूर्यविनायक नगरपालिका क्षेत्रका बस्तीमा बाढी तथा डुबानको जोखिम बढेको छ।

जोखिमयुक्त क्षेत्रका कतिपय बस्तीमा बाढीको पानी पस्न थालेको जनाइएको छ। स्थानीय प्रशासन तथा प्रहरीले खोलाको किनार, तटीय क्षेत्र र डुबानको जोखिम रहेका बस्तीका बासिन्दालाई सतर्क रहन तथा आवश्यक परे सुरक्षित स्थानमा स्थानान्तरण हुन आग्रह गरेको छ।