काठमाडौँ-निरन्तरको वर्षाका कारण काठमाडौँको टेकु–कालोपुल क्षेत्रस्थित कोरिडोरको सडक डुबानमा परेको छ। नदीमा पानीको बहाव बढेपछि कोरिडोर जलमग्न हुँदा सो क्षेत्रमा आवतजावत प्रभावित भएको हो।
लगातार वर्षा भइरहेकाले काठमाडौँ उपत्यकाका अन्य नदी तथा खोलाका तटीय क्षेत्र र कोरिडोरमा समेत डुबानको जोखिम बढेको छ। स्थानीयवासी तथा सवारीसाधन चालकलाई नदी तथा खोला आसपासका सडक प्रयोग गर्दा सावधानी अपनाउनुपर्ने अवस्था देखिएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर मनसुनी वायुका साथै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको छ। साथै, भारतको उत्तर महाराष्ट्र तथा छत्तीसगढ प्रदेश आसपास रहेको बलियो न्यूनचापीय प्रणालीको प्रभाव पनि नेपालमा परेको छ। उक्त प्रणाली उत्तर–उत्तरपश्चिमतर्फ सर्दै आगामी २४ घण्टामा क्रमशः कमजोर न्यूनचापीय प्रणालीका रूपमा रहने सम्भावना रहेको विभागले जनाएको छ।
हाल देशभर अधिकांश क्षेत्रमा बदली रहेको छ। बागमतीसहित कोशी, मधेस, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको विभागले जनाएको छ।
लगातारको वर्षाका कारण नदी तथा खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन र जोखिमयुक्त सडक तथा क्षेत्रबाट आवतजावत गर्दा सावधानी अपनाउन आग्रह गरिएको छ।



प्रतिक्रिया