काठमाडौँ-अविरल वर्षाका कारण काठमाडौँ उपत्यकाका नदी तथा खोलामा पानीको बहाव बढेको छ। गएरातिदेखि लगातार वर्षा भइरहेका बेला बागमती नदीमा पानीको सतह बढेसँगै उपत्यकाको पानी निकास हुने चोभार गल्छीमा समेत बहाव तीव्र भएको छ।
जल तथा मौसम विज्ञान विभागका अनुसार बंगालको खाडीमा विकसित न्यूनचापीय क्षेत्रको प्रभावका कारण पछिल्ला दुई दिनदेखि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ। विभागले अझै केही दिन वर्षा जारी रहने प्रक्षेपण गरेको छ।
लगातारको वर्षाका कारण देशभरका प्रमुख नदी तथा सहायक नदीमा पानीको सतह बढ्दै गएको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ। विशेषगरी बागमती नदीमा शुक्रबार बिहानदेखि पानीको बहाव बढिरहेको महाशाखाले जनाएको छ।
बागमती नदी हुँदै काठमाडौँ उपत्यकाबाट पानी बाहिरिने चोभार गल्छीमा पनि पानीको बहाव बढ्दै गएको हो। वर्षा अझै जारी रहेकाले उपत्यकाका नदी किनार तथा तल्लो तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।
मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिन देशका विभिन्न स्थानमा भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ। वर्षाका कारण देशका विभिन्न स्थानमा सडक तथा प्रमुख राजमार्गसमेत प्रभावित भएका छन्।





प्रतिक्रिया