अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए

कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार क्युसेक, २४ ढोका खोलिए


सुनसरी-पूर्वी पहाडी तथा तराईका जिल्लामा लगातार भइरहेको वर्षाका कारण कोशी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ।

शुक्रबार बिहान ९ः१५ बजेको मापनअनुसार कोशी ब्यारेजमा पानीको बहाव प्रतिसेकेन्ड १ लाख ९० हजार ६८० क्युसेक पुगेको जिल्ला प्रहरी कार्यालय सुनसरीका सहायक सूचना अधिकारी होम ओलीले जानकारी दिए।

जलस्तर बढेसँगै ब्यारेजका कुल ५६ ढोकामध्ये २४ वटा ढोका खोलिएका छन्। पानीको बहाव उच्च भएपछि खतराको सङ्केतस्वरूप ब्यारेजमा रातो बत्ती बालिएको छ भने रातो झण्डासमेत फहराइएको कोशी ब्यारेज कन्ट्रोल रुमले जनाएको छ।

नदीमा पानीको बहाव अझै बढ्न सक्ने अनुमान गरिएको छ। त्यसैले जलस्तरको निरन्तर अनुगमन भइरहेको जनाइएको छ।

कोशी नदीको बहाव बढ्दै गएकाले तटीय क्षेत्र तथा जोखिमयुक्त बस्तीका बासिन्दालाई उच्च सतर्कता अपनाउन सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले आग्रह गरेका छन्।

जल तथा मौसम विज्ञान विभागका अनुसार असोज ११ गतेसम्म कोशी प्रदेशका विभिन्न स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको छ। लगातार वर्षा भइरहेकाले नदी तथा आसपासका क्षेत्रमा थप सतर्कता आवश्यक देखिएको छ।