काठमाडौं-राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शम्भुप्रसाद ढकालले सरकारमा भएका सार्वजनिक पदका नियुक्तिप्रति प्रश्न उठाउँदै पारदर्शिता र मेरिटका आधारमा नियुक्ति गर्न माग गरेका छन्।
प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद ढकालले रास्वपा सभापति रवि लामिछानेले नेतृत्वमाथि प्रश्न गर्न दिएको शिक्षाअनुसार आफूले सरकार र आफ्नै सहकर्मीमाथि प्रश्न उठाएको बताए।
उनले सार्वजनिक पदमा भएका नियुक्तिको छनोट प्रक्रिया र मापदण्डबारे प्रश्न गर्दै नियुक्ति ‘मेरिटको आधारमा कि म्यारिजको आधारमा’ भएको हो भन्ने स्पष्ट पार्नुपर्ने बताए।
ढकालले २०८२ मंसिर २४ गते जेनजीसँग भएको सम्झौताको सातबुँदे दस्तावेजको तेस्रो बुँदा अध्ययन गर्न पनि आग्रह गरे। छनोट प्रक्रियामा सहभागी गराउने उद्देश्य नै नभए विद्वान् तथा प्राज्ञहरूलाई आवेदन दिन लगाउनु अपमानजनक हुने उनको भनाइ थियो।
‘सार्वजनिक पदका नियुक्तिको सामल कसले निफन्यो ? कसले चाल्यो ? त्यसको भुस कता गयो ? कनिका कति थियो? चामल कुन थियो, बासमती कि बोया ?’ भन्दै उनले नियुक्ति प्रक्रियामा पारदर्शिता आवश्यक रहेको बताए।
उनले भने, ‘चामल बासमती नै थियो होला, तर विश्वासको लोकतन्त्र भनेको पारदर्शिता हो। तपाईँ र मलाई जसले यहाँ पठायो, उसले थाहा पाउनुपर्छ।’
सांसद ढकालले सरकार र मन्त्रीहरूका लागि आफूहरू ‘ढाल’ भएको उल्लेख गर्दै ढाल कमजोर र मक्किए जनताको प्रश्नबाट सरकार र संसद् जोगिन नसक्ने बताए।
‘हामी सरकार र मन्त्रीका ढाल पनि हौँ। त्यसैले हाम्रो चिन्ता, ढालहरू पातलिए र मक्किए भने जनताको नजरले छेडिनेछन्,’ उनले भने।
उनले रास्वपाले विगतका राजनीतिक दल र नेतृत्वका कमजोरीबाट पाठ सिक्नुपर्ने बताए। जनताले पुराना राजनीतिक शक्तिका गल्ती अस्वीकार गरेर नयाँ शक्तिलाई अवसर दिएको भन्दै अब आफ्नै पार्टीबाट त्यस्तै गल्ती दोहोरिन नहुने उनको भनाइ थियो।
‘हिजोका सबै खराब थिएनन्। क्षमता र नियत दुवै कमजोर भएका मन्त्रीहरूसँग सम्झौता गरेर बिग्रिए। टिमको एउटा खराबले जनताको वाचा बिर्साइदिएको विगतबाट सिकौँ,’ उनले भने।
ढकालले कृषि अनुदान, वैदेशिक रोजगारीलगायतका नाममा सर्वसाधारणबाट रकम उठाउने तथा सार्वजनिक जीवनमा विवादित छवि भएका व्यक्तिलाई महत्वपूर्ण जिम्मेवारी दिने विषयमा पनि प्रश्न उठाए।
उनले सार्वजनिक पदमा नियुक्ति गर्दा सबैका लागि समान मापदण्ड र मेरिटोक्रेसी लागू गर्नुपर्ने बताए।
‘जहाँ–जहाँ गल्ती भएको छ, तत्काल सच्याऔँ। सबै नियुक्ति मेरिटोक्रेसीको आधारमा गरौँ र हामी आफ्नो गल्ती सच्याउन सक्छौँ भनेर सन्देश दिऔँ,’ उनले भने।
ढकालले सरकार र संसद्का संरचना जेनजी आन्दोलनका घाइते तथा आन्दोलनकारीको योगदानबाट बनेको राजनीतिक आधारमा उभिएको उल्लेख गर्दै उनीहरूको त्यागलाई नबिर्सन आग्रह गरे।
उनले राजनीतिक विकृति सच्याएर सुशासन कायम गर्ने अभियानमा अदालतको भूमिकाबारे पनि प्रश्न उठाए। साथै, विगतका राजनीतिक विकृति दोहोरिए जनताको विश्वास गुम्ने चेतावनी दिँदै सरकारलाई भएका कमजोरी तत्काल सच्याउन आग्रह गरे।



प्रतिक्रिया