काठमाडौं-भोटेकोशी बाढीका कारण विभिन्न क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन भइरहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ। मन्त्रालयले बालीनाली, पशुपन्छी, कृषि फार्म र खेतीयोग्य जग्गामा भएको क्षतिलाई छुट्टाछुट्टै वर्गीकरण गरेर विवरण संकलन तथा मूल्याङ्कन गरिरहेको जनाएको हो।
सिंहदरबारमा बुधबार बसेको राष्ट्रियसभाअन्तर्गतको भोटेकोशी एवम् कालीगण्डकी कोरिडोर विपद्सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति बैठकमा मन्त्रालयका सचिव डा. राजेन्द्रप्रसाद मिश्रले क्षतिको मूल्याङ्कन चारदेखि पाँचवटा शीर्षकमा वर्गीकरण गरेर भइरहेको जानकारी दिए।
उनका अनुसार बाढीबाट बालीनालीमा भएको क्षतिको विवरण राष्ट्रिय योजना आयोगको प्रतिवेदनमा समेटिनेछ। पशुपन्छी क्षेत्रमा भएको क्षतिको मूल्याङ्कन किसान सूचीकरणको तथ्यांक र व्यावसायिक फार्महरूबाट प्राप्त नोक्सानीको विवरणका आधारमा भइरहेको छ।
त्यस्तै, खेतीयोग्य जग्गामा भएको क्षतिको मूल्याङ्कन गर्दा लामो समयदेखि खेती हुँदै आएको जग्गा र त्यसको उत्पादकत्वलाई आधार बनाउने पद्धति अपनाइएको सचिव मिश्रले बताए।
सबै क्षेत्रको क्षतिसम्बन्धी अन्तिम तथ्यांक छिट्टै समितिलाई उपलब्ध गराइने उनले जानकारी दिए। यद्यपि, कालीगण्डकी बाढीपछिको क्षतिको मूल्याङ्कनमा भने केही ढिलाइ भएको उनले स्वीकार गरे।
बैठकमा समिति सभापति कृष्णप्रसाद पौडेलले बाढी प्रभावित विभिन्न स्थानीय तहका ४९ वटा वडामा भएको क्षतिको वास्तविक विवरण प्रमाणीकरण गरेर उपलब्ध गराउन आग्रह गरे। क्षतिको तथ्यांकमा एकरूपता र विश्वसनीयता कायम गर्न वास्तविक विवरण संकलन गरी समितिलाई उपलब्ध गराउनुपर्नेमा उनले जोड दिए।
सबै तथ्यांक प्राप्त भएपछि मात्रै समितिले प्रभावित क्षेत्रको स्थलगत निरीक्षण गर्ने सभापति पौडेलले बताए।
क्षतिको यकिन विवरण प्राप्त भएपछि बाढीबाट प्रभावित बालीनाली, पशुपन्छी, कृषि फार्म तथा खेतीयोग्य जग्गामा भएको नोक्सानीको समग्र अवस्था स्पष्ट हुने अपेक्षा गरिएको छ।



प्रतिक्रिया