काठमाडौं-प्रहरीले सञ्चारमाध्यमका कार्यालयमै प्रवेश गरेर पत्रकारलाई नियन्त्रणमा लिने तथा सोधपुछका लागि खोजी गर्ने क्रम बढाएको छ। नेपाल प्रेसका पत्रकार विश्वमणि सुवेदीलाई कार्यालयबाटै नियन्त्रणमा लिएको प्रहरीले शुक्रबार नयाँ पत्रिका र दियो पोस्ट अनलाइनको कार्यालयमा पनि प्रवेश गरेको छ।
प्रहरीले नयाँ पत्रिकाका संवाददाता नवराज मैनालीलाई खोज्दै कार्यालय पुगेको हो। अपराध अनुसन्धान कार्यालय, टेकुबाट आएको भन्दै सादा पोसाकमा पाँच जना प्रहरी नयाँ पत्रिकाको कार्यालयमा पुगेका थिए। उनीहरूले मैनालीलाई साइबर ब्युरोमा लैजानुपर्ने भन्दै उपस्थित गराउन आग्रह गरेको नयाँ पत्रिकाका सम्पादक खगेन्द्र पन्तले बताएका छन्।
पन्तका अनुसार प्रहरीसँग पत्रकार मैनालीलाई पक्राउ गर्ने पुर्जी थिएन। ‘पाँच जना प्रहरी अधिकारी आउनुभएको छ। पक्राउ पुर्जी छैन। संवाददातालाई उपस्थित गराउन भन्नुहुन्छ,’ उनले भने। प्रहरी कार्यालयमै बसेर मैनालीको खोजी गरिरहेको बताइएको छ।
यसैगरी, प्रहरीले दियो पोस्ट अनलाइनको अनामनगरस्थित कार्यालयमा पनि प्रवेश गरेको थियो। चार जना सादा पोसाकका प्रहरी प्रधानसम्पादक सुदीप विश्वकर्मा र समाचार संयोजक मदन ढुंगानासँग कुराकानी गर्नुपर्ने भन्दै कार्यालय पुगेका थिए। तर, उनीहरूलाई नभेटेपछि प्रहरी फर्किएको दियो पोस्टका पत्रकारले बताएका छन्।
यसअघि प्रहरीले नेपाल प्रेसको कार्यालयभित्रै प्रवेश गरेर पत्रकार विश्वमणि सुवेदीलाई नियन्त्रणमा लिएको थियो। सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्दै आएका सुवेदी समाचार कक्षमा कार्यरत रहेकै बेला तीन जना व्यक्ति कार्यालयभित्र प्रवेश गरेका थिए। उनीहरू प्रहरीको भ्यानमा आएका भए पनि गेटमा साथी भेट्न आएको बताएका थिए।
समाचार कक्षमै पुगेर उनीहरूले समाचारको विषयमा छलफल गर्नुपर्ने भन्दै सुवेदीलाई आफूसँग जान आग्रह गरेका थिए। नेपाल प्रेसका पत्रकार राजाराम न्यौपानेका अनुसार प्रहरीले कुनै पक्राउ पुर्जी देखाएको थिएन। आफूहरू अपराध अनुसन्धान कार्यालयबाट आएको र ‘आईजी साब’को आदेश रहेको उनीहरूले बताएका थिए।
सुवेदीले छलफलका लागि जानुपर्ने भए आफ्नै मोटरसाइकलमा जाने बताए पनि प्रहरीले अनुमति नदिई उनलाई प्रहरीको गाडीमा राखेर लगेको थियो।
प्रहरी स्रोतका अनुसार साइबर ब्युरोको आग्रहमा अपराध अनुसन्धान कार्यालयले सुवेदीलाई नियन्त्रणमा लिएको हो। नेपाल प्रेसमा प्रकाशित प्रहरी महानिरीक्षक दानबहादुर कार्कीमाथि राजीनामाको दबाब बढेको भन्ने समाचारको स्रोत खोजी गर्ने क्रममा उनलाई नियन्त्रणमा लिइएको प्रहरी स्रोतको दाबी छ। सुवेदीलाई अपराध अनुसन्धान कार्यालयले साइबर ब्युरोमा बुझाउने तयारी गरेको बताइएको छ।
एकै दिन विभिन्न सञ्चारमाध्यमका कार्यालयमा प्रहरी पुगेर पत्रकारको खोजी तथा नियन्त्रणमा लिने घटनाले पत्रकारिता क्षेत्रको प्रेस स्वतन्त्रता र समाचार स्रोतको सुरक्षासम्बन्धी बहसलाई थप चर्काएको छ।



प्रतिक्रिया