काठमाडौं-नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बिरुवामा पानी सिँचन गरेर पार्टीको राष्ट्रिय कार्यकर्ता भेलाको उद्घाटन गरेका छन्।
बुधबार काठमाडौंको थापाथलीस्थित कार्की ब्याङ्क्वेटमा सुरु भएको भेलाको उद्घाटनका क्रममा अध्यक्ष ओलीले बिरुवामा सिँचन गरेका हुन्। बिरुवामा पानी हालेर भेलाको उद्घाटन गर्दै अध्यक्ष ओलीले पार्टीको संगठनात्मक विकास, संरक्षण र समृद्धिको प्रतीकात्मक सन्देश दिएका छन्।
संगठनलाई थप सुदृढ बनाउने, नेता तथा कार्यकर्तामा आत्मविश्वास र उत्साह भर्ने तथा जनविश्वास पुनः आर्जन गर्ने भेलाको मुख्य उद्देश्य रहेको छ ।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा दिनुका साथै आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिएका छन्।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले भेलाका एजेन्डा अनुमोदन गरेको थियो। भेलामा २०८३ असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल हुनेछ।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद एवं स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी छन् ।
भेलामा अध्यक्ष ओलीसहित वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिएका छन्।
यसैबीच, भेलालाई स्वागत गर्दै पार्टी सचिव पद्मा अर्यालले वर्तमान परिस्थितिमा पार्टीलाई बलियो बनाउनु र जनताको विश्वास पुनः आर्जन गर्नु मुख्य चुनौती रहेको बताएकी छन्।
उनले पार्टीका नेता तथा कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै जनताका प्रश्न, गुनासा र सुझाव सुन्न पार्टी तयार हुनुपर्ने धारणा राखेकी छन्। जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूका कुरा सुन्ने, छलफल गर्ने र पार्टीमा आबद्ध गराउने अभियानमा लाग्नुपर्ने उनको भनाइ छ।



प्रतिक्रिया