काठमाडौं-नेकपा (एमाले)को राष्ट्रिय भेला आज (बुधबार) काठमाडौंमा सुरु हुँदैछ। काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा अहिले ११ बजेदेखि सुरु हुने भेलाका लागि अधिकांश सहभागी काठमाडौं आइसकेका छन्।
राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न तथा आगामी स्थानीय तह निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उपमहासचिव लेखराज भट्टले जानकारी दिए।
मंगलबार बसेको पार्टी स्थायी कमिटीको बैठकले राष्ट्रिय भेलाका एजेन्डा अनुमोदन गरेको थियो। भेलामा २०८३ असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले गरेका निर्णयहरूको कार्यान्वयनमा एकरूपता कायम गर्ने विषयमा छलफल हुनेछ। साथै, पार्टीले गर्नुपर्ने १५ वटा कामका विषयमा पनि छलफल हुने भट्टले बताए।
भेलामा केन्द्रीय कमिटीका सदस्य, प्रदेश तथा जिल्ला कमिटीका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्ष, जनसंगठनका प्रतिनिधि, केन्द्रीय निकायका सदस्य, संघीय तथा प्रदेश सांसद र स्थानीय तहका प्रमुख तथा उपप्रमुख सहभागी हुनेछन्।
भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नेछन्। उद्घाटनसहित उनले भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
त्यसैगरी, वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षद्वय रामबहादुर थापा र विष्णु पौडेल तथा महासचिव शंकर पोखरेलले पनि भेलालाई सम्बोधन गर्ने कार्यक्रम रहेको एमाले प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए।



















प्रतिक्रिया