अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारले खाना बन्द गरेपछि चाउचाउ-चिउरा खाएर भोक मेट्दै सुकुम्बासी [तस्वीरहरू]

सरकारले खाना बन्द गरेपछि चाउचाउ-चिउरा खाएर भोक मेट्दै सुकुम्बासी [तस्वीरहरू]


काठमाडौं-सरकारले खाना उपलब्ध गराउन बन्द गरेपछि भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा आश्रय लिइरहेका सुकुम्बासी परिवार चिउरा, दालमोठ र चाउचाउ खाएर सरकारविरुद्ध विरोध प्रदर्शनमा उत्रिएका छन्। बालबालिका, वृद्धवृद्धा र महिलासहित सपरिवार होल्डिङ सेन्टर परिसरमै बसेर उनीहरूले रित्तो थाल ठटाउँदै तथा प्लेकार्ड बोकेर विरोध जनाएका हुन्।

सरकारले शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएपछि त्यहाँ आश्रय लिइरहेका परिवार बिहानैदेखि प्रदर्शनमा उत्रिएका छन्। आफूहरूको स्थायी बसोबासको व्यवस्था नभएसम्म होल्डिङ सेन्टर नछाड्ने अडान राख्दै उनीहरूले ‘हाम्रो बास खोस्न पाइँदैन’, ‘तानाशाही चलाउन पाइँदैन’ लगायतका नारा लगाएका छन्।

यसअघि होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई शान्ति सेवा गृहले खाना उपलब्ध गराउँदै आएको थियो। तर सरकारले शुक्रबारदेखि खाना उपलब्ध गराउन बन्द गरेपछि केही परिवार आफैंले खानेकुराको व्यवस्था गरेर गुजारा चलाइरहेका छन् भने केही भोकै बस्न बाध्य भएका छन्। खाना बन्द भएपछि बालबालिका र वृद्धवृद्धासमेत सडक तथा भवन परिसरमै बसेर चिउरा, दालमोठ र चाउचाउ मिसाएर खाँदै भोक मेटाइरहेका छन्।

जिल्ला प्रशासन कार्यालय भक्तपुरले बुधबार लिखित सूचना टाँस गरी मंसिर ११ गते शुक्रबार दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो। यसअघि मंसिर २ गते एक साताभित्र ठाउँ छाड्न मौखिक निर्देशन दिइएको थियो।

काठमाडौं उपत्यकाका नदी किनारका बस्ती हटाइएपछि विस्थापित भएका परिवारलाई सरकारले उपत्यकाका विभिन्न स्थानमा अस्थायी बसोबासको व्यवस्था गरेको थियो। भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा केही परिवारले ठाउँ छाडिसके पनि अझै १९ परिवारका ५९ जना आश्रय लिइरहेका छन्।

प्रशासनले भूमिसम्बन्धी ऐन, २०२१ को दफा ५२ (क) र ५२ (ख) अनुसार गरिएको छानबिनमा सात परिवार भूमिहीन नभएको निष्कर्ष निकालेको छ। तीन पुस्ताभित्र जग्गाजमिन देखिएको वा २०६६ माघ २८ गतेपछि जग्गा कारोबार गरेको पाइए उनीहरूलाई भूमिहीन नमानिने प्रशासनको भनाइ छ।

बाँकी १२ परिवारको हकमा भने जग्गाजमिन नदेखिएकाले भूमिहीनको निस्सा दिने र उनीहरूको स्थायी ठेगाना भएको जिल्लाको भूमि समस्या समाधान समितिमार्फत जग्गाको अवस्थाबारे यकिन गर्ने प्रक्रिया अघि बढाउने प्रशासनले जनाएको छ।

प्रशासनले भूमिहीन देखिएका परिवारलाई होल्डिङ सेन्टर छाडेर स्थायी ठेगाना भएको जिल्लामा जान आग्रह गरेको छ। त्यसका लागि एक महिनाको घरभाडाबापत १५ हजार रुपैयाँ र यसअघि व्यवस्थापनका लागि तोकिएको २५ हजार रुपैयाँसमेत उपलब्ध गराइएको भक्तपुरका प्रमुख जिल्ला अधिकारी विनोदकुमार खड्काले बताएका छन्।

तर, होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारले भने लालपुर्जा वा स्थायी बसोबासको व्यवस्था सुनिश्चित नभएसम्म ठाउँ नछाड्ने अडान राख्दै आएका छन्। प्रशासनले तोकेको समयसीमा नजिकिँदै गर्दा आफूहरू कहाँ जाने र कसरी गुजारा चलाउने भन्ने अन्योलमा उनीहरू छन्।

यसैबीच, प्रदर्शन र सम्भावित सुरक्षा चुनौतीलाई ध्यानमा राख्दै प्रहरी टोली पनि होल्डिङ सेन्टर पुगेको छ। प्रदर्शनमा समर्थन जनाउन नागरिक अभियन्ता तथा जेनजी अभियन्ताहरू पनि पुग्ने क्रम जारी रहेको छ।