काठमाडौं-सरकारले संघीय सरकारअन्तर्गत करारमा कार्यरत कर्मचारी, राहत शिक्षक तथा बाल विकास सहजकर्तालाई सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी गरेको छ।
नवौँ सामाजिक सुरक्षा दिवसका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसंख्यक तथा सामाजिक सुरक्षा मन्त्री सीता बादीले सामाजिक सुरक्षा कोषको दायरा विस्तार गर्दै करार कर्मचारी, राहत शिक्षक र बाल विकास सहजकर्तालाई समेत समेट्ने प्रक्रिया अघि बढाइएको बताइन्।
मन्त्री बादीका अनुसार चालु आर्थिक वर्षमा सामाजिक सुरक्षा कोषको खर्च शीर्षकमा विनियोजन गरिएको १ अर्ब ८० करोड ६३ लाख रुपैयाँबाट उनीहरूलाई कोषमा आबद्ध गराउने नीतिगत तथा प्रक्रियागत आधार तयार गरिएको छ।
त्यसैगरी, अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकलाई पनि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउने तयारी भइरहेको उनले बताइन्। यसका लागि स्थानीय तहसँग सहकार्य गरी श्रमिकको योगदान व्यवस्थापन तथा राज्यको सहयोगदानसम्बन्धी व्यवस्था अघि बढाइएको उनको भनाइ थियो।
सरकारले सामाजिक सुरक्षा प्रणालीको दायरा विस्तार गर्दै श्रमिकको भविष्य सुरक्षित गर्ने उद्देश्यले विभिन्न क्षेत्रका कर्मचारी तथा श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीमा समेट्ने नीति लिएको छ।
कार्यक्रममा मन्त्रालयका सचिव एवं सामाजिक सुरक्षा कोषका अध्यक्ष कृष्णबहादुर राउतले कोषका योजना, उपलब्धि तथा आगामी कार्ययोजनाबारे विस्तृत विवरण प्रस्तुत गरेका थिए।



प्रतिक्रिया