अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारलाई शिक्षक महासङ्घको चेतावनी: माग पूरा नभए कडा आन्दोलन

सरकारलाई शिक्षक महासङ्घको चेतावनी: माग पूरा नभए कडा आन्दोलन


काठमाडौं-नेपाल शिक्षक महासङ्घ राष्ट्रिय समितिले विगतमा सरकारसँग भएका सहमति कार्यान्वयन नभएको भन्दै माग सम्बोधन नभए कडा तथा निर्णायक आन्दोलनमा जाने चेतावनी दिएको छ।

महासङ्घका अध्यक्ष सुन्दर पन्त र महासचिव तुलाबहादुर थापाले आइतबार जारी गरेको विज्ञप्तिमा सरकारले वार्ताका क्रममा सहमति जनाउने तर कार्यान्वयनमा जिम्मेवार र इमानदार नदेखिने प्रवृत्तिका कारण शिक्षक तथा कर्मचारीले लामो समयदेखि उही समस्या र पीडा भोग्नुपरेको उल्लेख गरिएको छ।

विगतमा नेपाल शिक्षक महासङ्घ र नेपाल सरकारबीच भएका सहमति कार्यान्वयन भएको भए शिक्षा क्षेत्रका अधिकांश समस्या समाधान भइसक्ने र गुणस्तरीय सार्वजनिक शिक्षाको दिशामा लामो फड्को मार्न सकिने महासङ्घको भनाइ छ। तर, शिक्षक आन्दोलनपछि वार्तामा सहमति जनाइए पनि कार्यान्वयनमा सधैँ बेइमानी र जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखिएको विज्ञप्तिमा उल्लेख छ।

वर्तमान सरकारले पनि शिक्षक तथा कर्मचारीका समस्याप्रति संवेदनशीलता नदेखाएको भन्दै महासङ्घले सरकार र शिक्षा तथा खेलकुद मन्त्रालयको ध्यानाकर्षण गराएको छ। यही अवस्था निरन्तर रहे कडा तथा निर्णायक आन्दोलनमा जान बाध्य हुने चेतावनीसमेत दिएको छ।

महासङ्घले विज्ञप्तिमार्फत शिक्षक तथा विद्यालय कर्मचारीका विभिन्न सातबुँदे माग अघि सारेको छ।

महासङ्घले नयाँ विद्यालय शिक्षा ऐन जारी हुनुअघि स्थायी भएका शिक्षकलाई पुरानो प्रणालीअनुसार निवृत्तिभरण दिनुपर्ने माग गरेको छ। नयाँ ऐन जारी भएपछि स्थायी हुने शिक्षक–कर्मचारीका हकमा भने योगदानमा आधारित निवृत्तिभरण प्रणाली लागू गर्ने व्यवस्था ऐनमा समेट्नुपर्ने उसको माग छ।

त्यस्तै, अस्थायी शिक्षकको आन्तरिक प्रतिस्पर्धाबाट स्थायी भएका शिक्षकलाई पनि निवृत्तिभरण प्रयोजनका लागि अस्थायी सेवा अवधि जोडेर सुविधा उपलब्ध गराउन महासङ्घले माग गरेको छ।

दुर्गम क्षेत्रमा कार्यरत शिक्षकले पाउँदै आएको दुर्गम तथा स्थानीय भत्ता कार्यान्वयन पुस्तिकामा समावेश नभएको आधार देखाउँदै कटौती गरिएको भन्दै महासङ्घले उक्त निर्णय सच्याउन आग्रह गरेको छ। विगतमा खाइपाइ आएको भत्ता बेरुजु देखाएर फिर्ता गर्न सम्बन्धित शिक्षकलाई पत्राचार गरिएको विषयलाई अन्यायपूर्ण भन्दै फिर्ता गर्नुपर्ने रकम मिनाहा गरी सबै शिक्षकलाई दुर्गम तथा स्थानीय भत्ता उपलब्ध गराउन माग गरिएको छ।

यस्तै, विद्यालय कर्मचारी र प्रारम्भिक बालविकास (ईसीडी) शिक्षकका लागि दरबन्दी सिर्जना गरी पदअनुसार नेपाल सरकारबाट तलबभत्ता उपलब्ध गराउनुपर्ने महासङ्घको माग छ।

विद्यालय शिक्षा ऐनका लागि विधेयकको मस्यौदा तयार गरी महासङ्घसँग संस्थागत सहकार्य र संवादमार्फत विद्यालय शिक्षा विधेयकलाई अन्तिम रूप दिन पनि आग्रह गरिएको छ। विगतमा भएका सबै सहमति सम्बोधन हुने गरी विद्यालय, विद्यार्थी, शिक्षक तथा कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन अविलम्ब जारी गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ।

यसैगरी, नेपाल शिक्षक महासङ्घको तेस्रो राष्ट्रिय परिषद्बाट पारित ५४ सूत्रीय मागलाई तत्काल सम्बोधन गर्न तथा शिक्षा नियमावलीको दशौँ संशोधनको नियम १७६ को उपनियम ३ अनुसार मन्त्रालयमा पेस भएको महासङ्घको विधान अविलम्ब स्वीकृत गर्न माग गरिएको छ।

महासङ्घले आफ्ना मागप्रति सरकार गम्भीर नभए आन्दोलनलाई थप सशक्त बनाउने संकेत गर्दै शिक्षक तथा कर्मचारीका समस्या समाधानका लागि तत्काल पहल गर्न आग्रह गरेको छ।