अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ठमेलबाट ३ किलो कोकिनसहित ८७ वर्षीय कोरियाली र भारतीय नागरिक पक्राउ

ठमेलबाट ३ किलो कोकिनसहित ८७ वर्षीय कोरियाली र भारतीय नागरिक पक्राउ


काठमाडौं – नेपाललाई अन्तर्राष्ट्रिय लागूऔषध कारोबारको ट्रान्जिट प्वाइन्टका रूपमा प्रयोग गर्दै आएको आशंकामा प्रहरीले ३ किलो कोकिनसहित दुई विदेशी नागरिकलाई काठमाडौंको ठमेलबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा ८७ वर्षीय दक्षिण कोरियाली नागरिक सुक चोन ली र २८ वर्षीय भारतीय नागरिक दीपक उत्तम वाघमारे रहेका छन्।

ब्यूरोबाट खटिएको प्रहरी टोलीले मंसिर ११ गते काठमाडौं महानगरपालिका-१७, ठमेलस्थित जीपी रोडको एक होटलको कोठाबाट दक्षिण कोरियाली नागरिक लीलाई पक्राउ गरेको हो। उनले साथमा ल्याएको ह्यान्ड ब्यागेजभित्र फल्स बटम बनाई लुकाएर राखेको अवस्थामा प्रहरीले ३ किलो कोकिन बरामद गरेको जनाएको छ।

त्यस्तै, उक्त कोकिन लिन आएका भारतीय नागरिक वाघमारेले लागूऔषध रिसिभ गरी लैजान खोजेको अवस्थामा उनलाई पनि पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानअनुसार दक्षिण कोरियाली नागरिक लीले पेरुबाट कोकिन काठमाडौं ल्याउने र भारतीय नागरिक वाघमारेले काठमाडौं हुँदै भारतको मुम्बई पुर्‍याउने जिम्मेवारी लिएको खुलेको छ।

प्रहरीका अनुसार ली सन् २०२६ नोभेम्बर २६ मा स्पेनको म्याड्रिड र कतारको दोहा हुँदै नेपाल आइपुगेका थिए। यसअघि पनि उनी सन् २०२६ जुलाई १९ मा नेपाल आएर ठमेलस्थित एक होटलमा तीन दिन बसेपछि दक्षिण कोरिया फर्किएको अभिलेखबाट खुलेको छ।पक्राउ परेका भारतीय नागरिक वाघमारेको साथबाट मुम्बईस्थित स्टेट रिजर्भ पुलिस फोर्सको परिचयपत्रसमेत फेला परेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा कोकिन लुकाइएको सुटकेस एकअर्कालाई दिने तथा लिने क्रममा पासवर्ड प्रयोग गर्ने गरेको समेत खुलेको ब्यूरोले जनाएको छ।

प्रहरीले उनीहरुको साथबाट ३ किलोग्राम कोकिन, एक थान राहदानी, एक थान आधार कार्ड, दुई थान मोबाइल फोन बरामद गरेको छ। बरामद गरिएको कोकिनको अवैध बजार मूल्य प्रतिग्राम ५० हजार रुपैयाँका दरले करिब १५ करोड रुपैयाँ रहेको ब्यूरोले जनाएको छ। उनीहरुमाथि लागूऔषध नियन्त्रण ब्यूरोबाट थप अनुसन्धान भइरहेको छ।