अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापामा एकै दिन पाँच बीओपी उद्घाटन

झापामा एकै दिन पाँच बीओपी उद्घाटन


झापा- सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि नियन्त्रण गर्न र सीमा सुरक्षालाई बलियो बनाउने उद्देश्यले झापामा आज एकै दिन पाँचवटा सशस्त्र प्रहरीको बोडर आउट पोस्ट (बिओपी) उद्घाटन गरिएको छ ।

पाँचवटै बिओपीको मेचीनगर नगरपालिका-५ स्थित नकबलबन्दामा मेचीनगर नगरपालिकाका प्रमुख विमल आचार्य र सशस्त्र प्रहरी बल नं १ बराहवाहिनी पकलीका वाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक वंशीराज दाहालले संयुक्तरुपमा उद्घाटन गर्नुभएको हो ।

मेचीनगर-१ स्थित तिरिङ, भद्रपुर–३ स्थित महेशपुर, झापा गाउँपालिकाको पन्थापाडा र गौरीगञ्जको आमगाछीमा स्थापना गरिएका बिओपीको एकै ठाउँबाट उद्घाटन गरिएको हो । यीसँगै जिल्लामा बिओपीको सङ्ख्या १७ पुगेको छ । एउटा बिओपीमा प्रहरी निरीक्षकको कमान्डमा २५ जना सुरक्षाकर्मी रहने व्यवस्था मिलाइएको प्रहरी नायब महानिरीक्षक दाहालले बताउनुभयो ।

यसअघि झापाको बाहुनडाँगी, काँकरभिट्टा, ज्यामिरगढी, पाठामारी, केचना, भागडुब्बा, टाघनडुब्बा, गौैरीगञ्ज, घेरावारी कुञ्जिवारी भद्रपुर र पृथ्वीनगर गरी कूल १२ वटा सशस्त्र प्रहरीको बिओपी स्थापना गरी सकिएको छ । उहाँले सीमा सुरक्षा र सीमा क्षेत्रमा हुने आपराधिक गतिविधि न्यूनीकरणका लागि जिल्लामा चार किलोमिटरको अन्तरमा ३७ वटा बिओपी स्थापना गर्ने सरकारको लक्ष्यअनुसार १७ वटा भइसकेको र बाँकी २० वटा निर्माणका लागि जग्गाको पहिचान भइसकेको जानकारी दिनुभयो ।

नगरप्रमुख आचार्य र उपप्रमुख मीना उप्रेतीले चौकी स्थापना भएसँगै सीमा क्षेत्रमा हुने अवाञ्छित गतिविधि नियन्त्रण, सीमाको सुरक्षा र अवैध चोरी तस्करी नियन्त्रणमा सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो । उहाँहरूले बिओपीमा आवश्यक पर्ने भौतिक तथा अन्य संरचना निर्माणमा नगरले आर्थिक सहयोग गर्ने बताउनुभयो ।