अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बालविवाह न्यूनीकरणको अभ्यासमा स्थानीय सरकार

बालविवाह न्यूनीकरणको अभ्यासमा स्थानीय सरकार


पाल्पा- कानूनमा ‘बिहेवारी बीस वर्ष पारी’ भन्ने गरिए पनि व्यवहारमा भने यो पूर्णरूपमा कार्यान्वयन हुनसकेको छैन । पाल्पा जिल्लामा पनि यो कार्यक्रम सञ्चालनमा त छ तर कार्यान्वयन भएको छैन । उमेर नपुग्दै विवाह गर्ने प्रचलन पाल्पामा अझै कायमै छ ।

हुनत जिल्लाका स्थानीय तहले बालविवाह न्यूनीकरणका प्रयास अघि सारेकै छन् तर उनीहरुको यो सक्रियताले बालविवाह हट्न भने सकेको छैन । जिल्लाका दुई नगरपालिका र आठ गाउँपालिकाको बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालनमा छ तर यहाँको यकीन तथ्याङ्क भने पाइँदैन ।

न्यूनीकरणका लागि स्थानीय सरकारले बालबालिका, अभिभावकबीच प्रहरीको साझेदारीमा जनचेतनामूलक कार्यक्रम, सडक नाटक प्रदर्शन, बालक्लबको गठन र उनीहरुलाई तालिम, बालमैत्री शासन आदि कार्यक्रम गरिरहेका छन् ।

रम्भा गाउँपालिकाले सबै विद्यालयमा गत वर्ष बालविवाह न्यूनीकरणसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेको थियो । उमेर नपुग्दै विवाह हुने क्रमलाई रोक्नका लागि ज्योतिष र पण्डितलाई पनि बालबालिकासँगै सहभागी बनाएर सचेतनामूलक कार्यक्रम गर्ने गरेको गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताउनुभयो ।

‘उमेर पूरा नभएकाको विवाह कार्यमा सहभागी नहुन पण्डितलाई अनुरोध गरेका छौँ, अध्यक्ष भण्डारीले भन्नुभयो, ‘बालविवाहलाई शून्यमा ल्याउन बालमैत्री शासन कार्यक्रम पनि गरिरहेका छौँ, अहिले गाउँपालिकाभित्र बालविवाह गर्ने क्रम कम हुदै गएको छ ।’ स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएपछि ५० प्रतिशत बालविवाह हुने दर घटाउन सफल भएको उहाँको दाबी छ ।

गतवर्ष बालविवाह न्यूनीकरण अभियानमा सचेतनामूलक कार्यक्रम गर्न गाउँपालिकाले पाँच लाख रुपैयाँ रकम विनियोजन गरेको थियो । यस वर्ष वडा तहदेखि विद्यालय तहसम्म बालविवाह न्यूनीकरणका लागि गाउँपालिकाले करिब पाँच लाख रुपैयाँ बजेट छुट्याएको छ । रासस