अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण गर्दै स्थानीय तह

ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण गर्दै स्थानीय तह


पर्वत- मुख्य ग्रामीण सडकमा पर्ने खोलामा धमाधम पुल निर्माण भइरहेको छ । हिउँदमा गाडी गुड्ने र वर्षात्मा बन्द रहने ग्रामीण सडकको समस्या रही आएको छ । ग्रामीण सडक वर्षात्का करीब तीनसम्म स्थानीय नदी तथा खोलामा पुल नहुँदा ग्रामीण सडकको यात्रा रोकिने गरेको थियो ।

चालू वर्ष मात्रै पर्वतका करीब आधा दर्जन मुख्य खोला नदीमा पुल निर्माण सम्पन्न भइसकेका छन् । केही खोलामा निर्माणाधीन पुल आगामी असारभित्रै सम्पन्न हुने चरणमा छन् । पूर्वाधार विकास कार्यालय पर्वत र सडक डिभिजन कार्यालय बागलुङले निर्माण थालेका पक्की पुलले मुख्य राजमार्ग तथा कुस्मा जोड्ने सबै स्थानीय तहलाई सहज बनाउने छ । पर्वतका सातै स्थानीय तह आवतजावत गर्ने सडकको यात्रा अब बाह्रै महिना सहज हुने भएको छ ।

गण्डकी प्रदेशको सबै स्थानीय तहमा पक्की सडक सञ्जाल पुर्‍याउने लक्ष्यकासाथ गत वर्षदेखि सुरुवात भएका सबैजसो पक्की पुल आगामी २०७८ असारभित्रै सम्पन्न हुने तयारीमा छन् । केही पुल यसअघि नै सम्पन्न भइसकेको सडक डिभिजन तथा पूर्वाधार कार्यालयले जनाएको छ । कार्यालयका अनुसार फलेबासको अर्चले–भङ्गरा जोड्ने पुल निर्माण सम्पन्न भइसकेको छ । अघिल्लो वर्ष नै कुस्मा-२ छमर्के खुर्कोटको रिठेखोला पुल निर्माण सम्पन्न भइसकेको छ ।

गत महिना कुस्मा नगरपालिका-३ अम्बोटखोला र मोदी गाउँपालिका-६ तिलाहारस्थित रतिखोला पुलको निर्माण सम्पन्न भएको छ । सडक डिभिजन कार्यालयले निर्माण गरेका दुवै पुलले कुस्मा तथा मोदी गाउँपालिकालाई मध्यपहाडी राजमार्गसँग जोड्छन् ।

मोदी गाउँपालिका-१ तथा कास्कीको अन्नपूर्ण गाउँपालिका-९ जोड्ने भुरुङ्दी खोला पुल यसै वर्षभित्र सम्पन्न गर्नेगरी तीव्र गतिमा निर्माण भइरहेको छ । कास्कीको नयाँ पुल हुँदै म्याग्दीको घोडेपानीसम्म पुग्ने सडकमा भुरुङ्दी खोलाको पुल निर्माण भएपछि देशी विदेशी पर्यटकको यात्रामा सहज हुनेछ ।

पूर्वाधार कार्यालयले चालू वर्षमा सकिने गरी पैँयु गाउँपालिका-७ मा शेरा खोला, पैँयु-४ मा गेडी खोला, मर्दी खोला र शिब्दी खोला पुल निर्माण गरिरहेको छ । कार्यालयका सूचना अधिकारी गौरवदास बैरागीका अनुसार चालू वर्षमा नै सक्नेगरी तीव्ररुपमा अघि बढिरहेका पुलमध्ये सबैको प्रगति ७५ प्रतिशत नाँघीसकेको छ ।