अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वसन्त यामको आरोहण : दुई आरोही समूहले पायो अनुमति

वसन्त यामको आरोहण : दुई आरोही समूहले पायो अनुमति


काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागले वसन्त यामको आरोहणका लागि दुई आरोही समूहलाई ‘एक्सिपिडिसन पर्मिट’ दिएको छ ।

विभागले गोरखामा पर्ने मनास्लु हिमाल (८,१६३ मिटर) र सोलुखुम्बुमा पर्ने नुप्से (७,८६४ मिटर) आरोहणका लागि अनुमति जारी गरेको छ । नुप्सेमा चार र मनास्लुमा एक जनाको आरोही टोली छन् ।

दुई आरोही समूहलाई अनुमति जारी गरिएको र अन्य धेरै आरोहीले आरोहण अनुमतिका लागि विभागसमक्ष निवेदन दिएको विभाग, पर्वतारोहण शाखाका शाखा अधिकृत भीष्मराज भट्टराईले जानकारी दिनुभयो । उहाँका अनुसार आरोहण अनुमति माग्ने आरोहीमा अधिकांशले सगरमाथा र अन्नपूर्ण हिमाल आरोहण गर्न चाहेका छन् ।

आरोहणकै लागि अहिले विभागमा ५० भन्दा बढी अनअराइभल भिसाका लागि विभिन्न मुलुकका आरोहीले निवेदन दिएको विभागले जनाएको छ । वसन्त यामको आरोहणका लागि विभिन्न कम्पनीमार्फत धमाधम आरोहीले निवेदन दिएका हुन् ।

मार्च, अप्रिल र मेको आरोहणका लागि मार्चदेखि बुकिङ शुरु भए पनि अप्रिलको दोस्रो सातासम्म विभागलाई अनुमति जारी गर्न भ्याइनभ्याइ हुन्छ । कोभिड–१९ महामारीकै बीच आरोहणमा केही आशाका सङ्केत देखिएका छन् । बहराइनी राजकुमार शेख मोहम्मद हमाद मोहम्मद अल खलिफासहितको टोलीले आगामी वैशाखमा सगरमाथा आरोहण गर्ने भएको छ । यस वर्षको वसन्त याममा सर्वाेच्च शिखर आरोहणका लागि बहराइन अधिराज्यका युवराज शेख नसेर बिन हमिद अल खलिफाका भाइ शेख मोहम्मदसहित १६ जनाको टोली आज नेपाल आउने जनाएको छ ।

नेपालस्थित सेभेन समिट ट्रेकमार्फत आरोहणको तयारी भइरहेको छ । बहराइन रोयल गार्ड (डिफेन्स फोर्स) मा कार्यरत १३ बहराइनी तथा तीन बेलायती रहने आरोही टोली ७९ दिन नेपालमा रहने जनाइएको छ । सगरमाथा आरोहणका लागि आवश्यक अन्य बन्दोबस्ती टोलीले सन् २०२० अक्टोबरमा लोबुचे पिक र मनास्लु हिमाल सफलतापूर्वक आरोहण गरेको थियो ।

कोभिड-१९ का कारण अघिल्लो वर्ष मुख्य याममै नेपालको पर्वतारोहण र पदयात्राले असर बेहोरेका सन्दर्भमा महामारीकै बीच हिउँद याममा भएका केही आरोहण तथा आगामी यामका लागि बुकिङ शुरु भएकाले यस वर्ष आरोहणमा सुधारका सङ्केत देखिएका छन् ।

विदेशी पर्यटकलाई नेपाल प्रवेशवापत अझै पनि क्वारेन्टिन बस्नुपर्ने प्रावधानका कारण अन्य पर्यटकीय गतिविधि खुम्चिए पनि पर्वतारोहणमा भने पर्यटकको चासो बढेको देखिन्छ ।

व्यवसायीको मागबमोजिम सरकारले पनि विदेशी पर्यटक आगमनलाई सहज तुल्याउन क्वारेन्टिन व्यवस्था खुकुलो बनाउने र पिसिआर नेगेटिभ यात्रुलाई सहज रुपमा भ्रमण व्यवस्था गर्ने संस्कृति मन्त्रालयले जनाएको छ ।