अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मासु पसललाई व्यवस्थित गर्न फ्रेस हाउस सञ्चालन कार्यविधि बनाउँदै इटहरी उपमहानगर

मासु पसललाई व्यवस्थित गर्न फ्रेस हाउस सञ्चालन कार्यविधि बनाउँदै इटहरी उपमहानगर


इटहरी- इटहरी उपमहानगरपालिकाले उपभोक्ताको हितलाई मध्यनजर गर्दै मासु पसललाई व्यवस्थित गर्ने भएको छ । उपमहानगरले मासु पसलहरूलाई ब्यवस्थित र गुणस्तरीय वनाउन फ्रेस हाउस सञ्चालन कार्यविधि तयार गरिरहेको छ ।

उपमेयर लक्ष्मी गौतमले कार्यविधिको ड्राफ्ट तयार भइरहेको जानकारी दिनुभयो । पटकपटक अनुगमन गरेर मासु पसललाई व्यवस्थित गर्न निर्देशन दिँदा पनि सुधार नभएपछि कार्यविधि नै वनाएर व्यवस्थित गरिन लागेको उहाँले जानकारी दिनुभयो ।

कार्यविधिका लागि सुझाव लिन मासु व्यवसायीहरूसँग छलफल गरिएको छ । विश्व उपभोक्ता अधिकार दिवसको अवसर पारेर मासु व्यवसायीहरूसँग छलफल गरिएको हो ।

छलफलमा ब्यवसायीले जनचेतनाको अभावले फ्रिजमा राखेको मासु उपभोक्ताले किन्न नमान्ने गरेको गुनासो गरे । बाहिर राखेको मासुभन्दा फ्रिजमा राखेको स्वस्थ्यकर हुने भए पनि उपभोक्ताले बाहिरै राखेको ताजा मासु खोज्ने गरेको व्यवसायीको भनाइ छ ।

कस्तो मासु स्वस्थ्य र उचित हुन्छ भन्ने विषयमा चेतनामूलक जानकारी लेखिएको फलेक्स १५ दिनभित्रमा इटहरीका सबै मासु पसलहरूमा उपमहानगरले राख्ने भएको छ । व्यवसायीहरूले मापदण्ड पालना नगर्ने मासु पसलहरूलाई कडाई गर्नसमेत माग गरेका छन् ।

त्यस्तै, उनीहरूले व्यवस्थित वधशालाको आवश्यकतामा समेत जोड दिएका छन् । मासुको दर रेट तोक्न व्यवसायीको माग छ । इटहरीमा मापदण्ड विपरित खुल्ला रूपमा मासु वेचविखन गर्न नपाउने गरी कार्यविधि बनाएर व्यवस्थित गर्न लागिएको हो ।