अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

मिथिलाञ्चलमा फागु पर्वको रौनक सुरू

मिथिलाञ्चलमा फागु पर्वको रौनक सुरू


जनकपुर- मिथिलाञ्चलमा सद्भाव, सौन्दर्य र रसरङ्गको रङ्गीन पर्व फागुको रौनक छाइरहेको छ । जातिपाति, छुवाछूत, सानो, ठूलो, धनी र गरिबको भेदभावलाई भुलेर एउटै रङ्गमा रङ्गिने फागु पर्व नवचेतना, समता र सद्भावको प्राकृतिक स्रोत हो । प्राकृतिक सौन्दर्य र रसरङ्गको उमङ्गले सबैलाई तरङ्गित तुल्याउने फागु आनन्द र उल्लासको रङ्गीचङ्गी चाड हो ।

मिथिलाञ्चलमा १५ दिने परिक्रमाका श्रद्धालुले कञ्चन वनमा रङ्ग, अबिर खेलेसँगै फागुको रौनकता सुरू हुन्छ । त्रेतायुगमा भगवान् राम र सीताले कञ्चन वनमा रङ्ग अबिर खेलेको मान्यताअनुरूप परिक्रमाका श्रद्धालुले फागुको थालनी गर्ने परम्परा छ ।

फागु पर्वको इतिहास वसन्त र वसन्तको मदन अर्थात् कामदेवको पूजाबाट शुरू हुन्छ । त्यसैले यस उत्सवलाई मदनोत्सव या वसन्तोत्सवका रूपमा मनाइन्छ । वसन्तोत्सवले हाम्रो जीवनमा यौवनभरी प्रकृतिको सौन्दर्यबाट हामीलाई प्रसन्न तुल्याउँछ ।

प्रकृतिको सुन्दरतामा मनुष्यलाई प्रशन्न गरी उसका सबै घाउलाई भर्न सक्ने क्षमता छ । अतः मानिसको स्वभाव नै प्राकृतिक सौन्दर्यबाट प्रभावित हुने हुँदा प्रकृतिको पर्व मनाउनलाई पाश्चात्य देशमा एउटी सुन्दरी बालिकालाई छानेर उक्त बालिकालाई रानीको सङ्ज्ञा दिई वसन्त पर्व मनाउने चलन पनि पाइन्छ ।

प्राचीनकालमा वसन्तोत्सवका रूपमा मनाइने यो चाड कालान्तरमा प्रह्लाद, कृष्ण, होलिका, ढुण्डा आदिका कथा माध्यमले फागु, फगुवा, होली, होरी नाउँबाट पुकार्न थालेको पाइन्छ ।