करिब ४० वर्षदेखि घरबाट बेपत्ता भएका एक जना इलामेली दुर्गाप्रसाद तिम्सिना अब केही बेरमा आफ्नो घर इलाम पुग्दैछन् । कोलकत्ताको जेलमा बसेका तिम्सिनाको ठाउँ ठेगाना पत्ता लगाउन धेरैले धेरै प्रकारका जुक्ति लगाए । इलामे लेखक पत्रकार केदार शर्माले दुर्गाप्रसादको घर कसी कसरी पत्ता लगाउनुभयो । त्यो बढो रोचक छ । अहिले पो हराएका मान्छे दुर्गाप्रसाद भन्ने थाहा भयो त । त्यतीबेला त न उहाँको नाम थाहा थियो न थर र ठाउँ । तर पनि शर्माले अनेक जुक्ति लगाएर उहाँको ठाउँ ठेगाना पत्ता लगाउनुभएको थियो । आज दुर्गाप्रसाद घर पुग्दै गर्दा शर्माले उहाँलाई खोज्न गरेको भुक्तमानको सम्झना हुन्छ । शर्मााले आफ्नो भुक्तमान ११ मंसिर २०७७ मा हिमाल खबर पत्रिकाको अनलाइनमा वर्णन गर्नुभएको छ । हामीले उहाँको भुक्तमानीको लेख सान्दर्भिक ठानेर साभार गरेका छौं । -प्रधानसम्पादक
केही दिनअघि हिमाल खबरपत्रिकाबाट तुफान न्यौपानेजीको फोन आयो, “इलामको डाँडागाउँका दीपक जोशी सन् १९८१ मा दार्जीलिङमा गिरफ्तार भएयता कुनै सुनुवाइ विनै कोलकाताको हावडा जेलमा रहेछन् । उनलाई जिम्मा लिने आफन्त फेला परे उनलाई मुक्त गराउने प्रयास सफल हुन्छ कि जस्तो छ। फेला पार्नका लागि कुनै मद्दत गर्न सकिएला दाइ ?”
आफ्नो बानीअनुसार “सकिएला नि !” त भनिहालें, तर आफ्नो थर ‘जोशी’ बताउने कुनै पनि इलामे अहिलेसम्म नभेटेको पनि बताएँ।
डाँडागाउँका जोशी
नेपालमा दुईवटा ‘फिक्कल’ भएको मलाई थाहा छ। ‘माघे’ एउटा मात्र थाहा छ। तर केराबारी वा तोरीबारी सुन्दरपुर धेरैवटा छन्। पहाडमा ‘डाँडागाउँ’ हरू पनि जताततै भेटिन सक्छन्। संयोगवश एउटा डाँडागाउँ हाम्रो घर नजिकै छ। अर्को डाँडागाउँ चमैतामा पनि छ भन्ने सुनेको हो।
एकै छिनपछि फोन गरेर टङ्कजीले भन्नुभयो, ‘ल है सर, दीपकको परिवार भेटियो।’ एउटा बेठेगानको ठेगाना भेटियो। त्यसको त समाचार नै आइसक्यो। तर कथा त अब सुरू हुनेवाला छ।
जोशी भन्ने थर नेवार र बाहुन दुवैको हुन्छ। तर इलाममा ती दुवै समुदायका जोशी थर लेख्ने मान्छे भएको मलाई थाहा थिएन। हाम्रो घर छेउको डाँडागाउँ मूलतः नेवार गाउँ नै हो। सामान्यतया त्यहाँका नेवारहरू आफ्नो थर ‘प्रधान’ नै लेख्छन्। त्यति हुँदाहुँदै पनि यतातिर ‘प्रधान’ थर मात्र नभएर ‘नेवार’ (जातीय समुदाय) बुझाउने साझा र सम्मानजनक शब्द पनि हो। त्यसैले मैले दीपक जोशीको खोजी छिमेककै डाँडागाउँबाट थालें। तर यो डाँडागाउँमा न त कोही जोशी रहेछन्, न त त्यहाँको कोही व्यक्ति त्यसरी बेपत्ता भएका रहेछन्।
वेष्ट बङ्गाल अमेच्योर रेडियो क्लबले पठाएको चिठीमा दीपकको ठेगाना स्क्लोफा रहेको देखियो। नेपाली शब्द वा नामहरूलाई अंग्रेजीमा लेख्दा व्यञ्जनवर्ण (कन्सोनेन्ट) हरूको को यत्रो लस्कर लाग्दैन। यस्तो त हाम्रा जिब्राले बोल्न पनि जान्दैनन्। मलाई ‘स्क्लोफा’ भन्ने नाम पूर्वी युरोपका पोल्यान्ड, स्लोभाकियातिरको कुनै सानो शहरको जस्तो लागेको त हो, तर पनि दीपक जोशीलाई खोज्नु त नेपालमै थियो, इलाममै थियो। मेरो सानो जानकारी भण्डारले नेपालमा ‘स्क्लोफा’ जस्ता ध्वनि उच्चरित हुने ठाउँ पाइने सम्भावनालाई नै नकारी दिए पनि तर स, क र फ तीनै वटा ध्वनि भएको इलामको गाउँ ‘साक्फारा’ हुनसक्ने अनुमान गर्यो।
तर जानेसम्मका स्रोतहरू परिचालन गर्दा पनि न त साक्फारामा कुनै जोशी परिवार पाइए, न त करीब चालीस वर्ष अघिदेखि बेपत्ता भएको कुनै व्यक्तिका बारेमा कुनै जानकारी। चमैताको डाँडागाउँमा लाक लगाउँदा पनि न त कुनै जोशी परिवार भेटियो, न त चालीस वर्षअघि छोरो हराएको कुनै अर्को परिवार।
नामः दीपक जैसी, ठेगाना फेरि पनि डाँडागाउँ
अर्को दिन तुफानजीले नै पठाएको ‘दीपक जोशी’ कै हस्ताक्षरमा लेखिएको एउटा चिर्कटोमा ‘दुर्ग प्रसाद तिमसिना’ भन्ने नाम पाइयो। त्यसैमा ‘केदरनात’ र ‘दीपक जैसी’ पनि फेला परेपछि ‘दीपक जोशी’ जोशी थरका नेवार वा कुमाई बाहुन नभएर तिम्सिना थरका जैसी बाहुन हुन् कि भन्ने लाग्यो र तुरुन्त खोजी ‘तिम्सिना’ हरूतिर मोडियो। तर फेरि पनि असफलताले नै पर्खिइरहेको थियो। फिक्कल डाँडागाउँमा तिम्सिना छैनन् भन्ने त मलाई नै थाहा थियो, चमैतातिर पनि छैनन् भन्ने थाहा भयो। मेरै गाउँमा रहेका तीनघर तिम्सिनाहरूलाई सोध्दा खुटखबर केही भेटिएन।
केही दिनपछि वरिष्ठ अधिवक्ता सतिशकृष्ण खरेलको फोन आयो र यसै विषयमा हामीले लामै कुरा गर्यौं । मैले दीपकको थर ‘जोशी’ नभएर तिम्सिना नै हुनुपर्छ भनें र त्यसमा सतिशजीको पनि सहमति रह्यो। तर ठेगाना विनाको दीपक तिम्सिना खोज्नमा म पहिले नै असफल भइसकेको थिएँ। तर त्यसदिन खरेलजीले पठाएको ‘एकता मानवीय विद्यालय, डाँडागाउँ’ लेखिएको कागज पाएपछि भने मलाई सुरुङका पल्ला छेउमा मधुरो उज्यालो देखेजस्तो लाग्यो। तर त्यो पनि सजिलो थिएन।
इलाममा ‘मानवीय’ भन्ने फुँदो थपिएको विद्यालय छैन भन्ने त निश्चित जस्तै थियो। त्यो शब्द ‘मानवीय’ नभएर ‘माध्यमिक’ हो कि भनौं भने पनि चालीस वर्षअघि पाँच वटा मात्र मावि भएको इलामबाट हिँडेका दीपकले माध्यमिक विद्यालयको ठेगाना दिएको त नहुनुपर्ने भन्ने लाग्यो। तर हामीलाई त एकता नामको कुनै पनि विद्यालय भए पनि एउटा आधार मिल्थ्यो।
अब मलाई चाहियो इलामका धेरै विद्यालयहरूका बारेमा जानेका कुनै व्यक्तिको सहयोग र सम्झिएँ पूर्व जिल्ला शिक्षा अधिकारी, र सूचनासम्पन्न इलामे टङ्क गौतमलाई। सबै कुरा सुनेर टङ्कजीले प्रदेश सांसद धिरेन शर्मा पनि तिम्सिना भएको र उहाँको परिवारमा फोन गरेर थप बुझ्ने प्रयास गर्ने कुरा बताउनुभयो।
एकैछिन पछि फोन गरेर टङ्कजीले भन्नुभयो, “ल है सर, दीपकको परिवार भेटियो।”
एउटा बेठेगानको ठेगाना भेटियो। त्यसको त समाचार नै आइसक्यो। तर कथा त अब शुरू हुनेवाला छ।
दीपक तिम्सिनाले परदेशमा भोगेको अमानवीय कैद मार्मिक मानवीय कथा हो। दीपककी आमा र परिवारलाई भेटेर भिडियो रिपोर्ट पठाइदिन हिमालले इलामका पत्रकार लक्ष्मीप्रसाद मिश्रलाई भनेछ। पत्रकारितालाई सोखमा सीमित राखेर जीवन बीमा कर्मचारी भएका लक्ष्मीप्रसाद मिश्र तत्कालै तयार भएछन् र आफैँ प्रमुख भएको कार्यालयबाट विदा लिएर भोलिपल्टै लुम्बक जाने भएछन्। र, रमाइलो कुरा, उनी मलाई समेत लिएर जाने भएछन्।
चाख मलाई पनि थियो। जस मैले नै पाएको थिएँ। गाउँमा सफा हावापछि सबैभन्दा सजिलै पाइने कुरा हो फुर्सद, त्यसलाई पनि कच्याककुचुक पारेर मिलाएँ।
एउटी महिलाका हुर्किंदै गरेका दुईजना छोरा पटापट मर्छन्। अनि श्रीमान् बित्छन्। लडेर भाँचिएको दाहिने हातको उपचार बिग्रिन्छ र कुहिनैदेखि चुँडिएर झर्छ। अनि जन्मले साहिंलो भए पनि घरको ठूलो छोरो डुप्तप्रसाद घर छाडेर भाग्छ।
लुम्बक उसो त इलामबजारको ठ्याक्कै दक्षिणपूर्वतिरको, माइखोलापूर्वको गाउँ हो, तर पहिल्याउँदै जानुपर्ने भएकाले हामी भालुखोपतिरबाट, लक्ष्मीपुर हुँदै जाने भयौं।
बिहान ६ बजे नै एउटा गाडी खोजेर म भालुखोप पुगें, उनी इलामतिरबाट आइपुगे र हामी लाग्यौं लुम्बकतिर।
इलाम क्याम्पसका क्याम्पस प्रमुख डा. दिलनाथ फुँयालका मामा पर्ने रहेछन् दीपक। दिलनाथजीले नै हामीलाई हजुरआमा भेट्टाउन लगे।
पीडाका कथा पत्रैपत्र
एउटी महिलाका हुर्किंदै गरेका दुई जना छोरा पटापट मर्छन्। अनि श्रीमान् बित्छन्। लडेर भाँचिएको दाहिने हातको उपचार बिग्रिन्छ र कुहिनैदेखि चुँडिएर झर्छ। अनि जन्मले साहिंलो भए पनि घरको ठूलो छोरो डुप्तप्रसाद घर छाडेर भाग्छ।
“जोत्न सक्ने भएको थियो, भाग्यो”, आमाका लागि अहिले पनि उनको अनुपस्थिति यसरी खट्किन्छ। बाँच्नै गाह्रो भएपछि एतप्पाबाट उनी बसाइँ सरेर लुम्बकका फेदीमा गुजारा गर्न थालिन्।
परिवार सम्पन्न कहिल्यै भएन। स्वस्थ पनि भएन। छोराछोरी मरेको, बेपत्ता भएको, मानसिक र शारीरिक सबै किसिमले रोगाएको पीडा धनमायाको अपाङ्ग शरीरले बेहोरिरह्यो।
र, अहिले हामी उनको ६० वर्ष नाघेका छोरालाई कारागारमुक्त गराउन खोजिरहेका छौं।
दीपक जोशी नै भनौं डुप्तप्रसादलाई अहिले। डुप्तप्रसादले नेपाली भाषा नबोलेको कति भयो होला ? नेपाली खाना नखाएको कति भयो होला ? आमालाई त छोरालाई के मीठो लाग्थ्यो भन्ने पनि सम्झना छैन। मीठो नमीठो त अघाउञ्जेल खान पाउँदाको कुरा न हो।
अहिले म कविशिरोमणि लेखनाथ पौडेलको एउटा कम चर्चित कविता ‘पिंजडाबाट छुटेको सुगा’ सम्झिइरहेको छु। धेरै वर्ष अघि पढेको त्यो कविताका हरफहरू त सम्झनामा छैनन् तर भाव ताजै छ। पखेटा कुँजिइसकेको एउटा चरालाई पिंजडाबाट निकाल्न भन्दा पनि गाह्रो त त्यसलाई उसको हाँच बथानमा मिलाउन, अर्थात् पुनस्र्थापित गराउन ठूलो चुनौती हुन्छ। उसलाई आहार खोज्न सिकाउनु सघाउनुपर्छ र पर्छ बाज र बिरालाहरूबाट जोगाउन।
के हामी त्यसो गर्न सकौंला त ?
प्रतिक्रिया