काठमाडौं-नेकपा एमालेको शुक्रबार बसेको सचिवालय बैठक सकिएको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको बैठक केहीबेरअघि सकिएको हो।
आजको बैठकमा ५ जना उपाध्यक्षहरूले आफ्ना कुरा राखेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। उनका अनुसार, सचिवालयका अन्य १२ जनाले भोलि आफ्ना कुरा राख्नेछन्।
उनका अनुसार बैठक शनिबार ११ः३० बजे पुन: बस्नेछ। ‘आज ५ जना उपाध्यक्षले लामो समयसम्म बोल्नुभयो । अब १२ जना बोल्न बाँकी छ’, भट्टले भने।
उपमहासचिव लेखराज भट्टका अनुसार बैठकमा पार्टीको समग्र समीक्षा गर्नुका साथै निर्वाचनको समीक्षालाई दुई भागमा बाँडेर छलफल अगाडि बढाइएको छ। नेताहरूले लामो समय लिएर स्पष्ट रूपमा आफ्ना विचारहरू प्रस्तुत गरेका थिए ।
भट्टले भने, ‘सायद यो बैठक यसरी चलेको पहिलोचोटी होला, जहाँ नेताहरुले लामो समय लिएर आफ्ना खुलेर विचारहरू प्रस्तुत गर्नुभएको छ ।’ बैठकको बीचबीचमा पार्टी अध्यक्षले विषयवस्तु स्पष्ट पार्न आवश्यक सहजीकरण समेत गरेका थिए ।
प्रस्तावित कार्यविभाजनमा केही संशोधन गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले भने, ‘त्यो एजेन्डामै आउँदा हाम्रा कुराहरू राख्छौँ । प्रस्तावित कार्यविभाजनमा कसका के सुझाव छन्, आवश्यक पर्दा त्यसलाई संशोधन पनि गरेर जानुपर्ला ।’
तर आजको बैठकमा नेताहरूले चुनावकै बारेमा केन्द्रित भएर बोलेकाले कार्य विभाजनबारे छलफल प्रवेश नै गर्न नपाएको नेताहरूले बताए।




प्रतिक्रिया