काठमाडौं-नेपाली कांग्रेसका सभापति गगन थापाले सरकारले ल्याएका सबै अध्यादेश राष्ट्रिय सभाबाट पारित गर्न नहुने बताएका छन्।
कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले शुक्रबार सुनसरीको लौकहीमा आयोजना गरेको कोशी प्रदेशस्तरीय भेलालाई सम्बोधन गर्दै सभापति थापाले सबै अध्यादेश स्वीकृत गर्न नसकिने बताएका हुन्।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम पारित भएको र बजेटमा पनि सरकारलाई अफ्ठेरो नपारिने उनको भनाइ थियो।
तर, संवैधानिक परिषद्सम्बन्धी लगायत केही अध्यादेश भने राष्ट्रिय सभाबाट रोकिने उनले बताए। ‘अहिले अध्यादेश अस्वीकृत गर्ने कुरा राष्ट्रिय सभामा छ। हामी सबै अध्यादेश अस्वीकृत गर्नु हुँदैन भनिरहेका छौँ,’ थापाले भने।
सहकारीसहित केही अध्यादेश भने पारित गरिने उनले बताए। ‘सहकारीसँग जोडिएको विषयको अध्यादेश छ, अरू अध्यादेशहरू छन्, यी अध्यादेशहरू अगाडि बढ्न दिनुपर्छ,’ थापाले भने, ‘संवैधानिक परिषद्सँग जोडिएको अध्यादेश र अरू बाँकी रहेका नागरिकका मौलिक अधिकारहरू खण्डित गर्ने कानुन ल्याएर ल्याएको अध्यादेशका सन्दर्भमा यसलाई रोक्नुपर्छ।’
उनले मन्त्रीहरूले सार्वजनिक गरेको सम्पत्तिको स्रोत जनतालाई देखाउनुपर्ने बताए। सरकारले बनाएको संविधान संशोधन कार्यदलमाथि पनि प्रश्न उठाए।




प्रतिक्रिया