अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने

संस्कृतिविद् सत्यमोहन जोशीको नाममा विद्यालय खोलिने


काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीको आग्रहमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठ आज वाङ्मय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीकोे निजी निवासमा पुग्नुभएको छ ।

शिक्षामन्त्री श्रेष्ठले राष्ट्रपति भण्डारीले आफूलाई इतिहासका धरोहर जोशीको स्वास्थ्य अवस्था, उहाँका चाहना, समस्या र आवश्यकताबारे बुझेर आफूलाई जानकारी गराउन निर्देशन गर्नुभएको भेटघाटका क्रममा बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जीवित इतिहास तपाईका नाममा सरकारले सत्यमोहन जोशी सामुदायिक विद्यालय खोल्ने निर्णय गरेको छ । मुलुकको जुनसुकै स्थानमा तपाई जहाँ विद्यालय खोलियोस् भन्ने चाहानु हुन्छ, हामी त्यहीँ स्थानमा विद्यालय खोल्ने भएका छौँ । घनावस्ती भएको स्थान जहाँ विद्यालयको अति आवश्यकता छ त्यहाँ विद्यालय खुल्नेछ ।’

जोशीको नामका खोलिने सो विद्यालय दरबार हाइस्कुल जस्तो हुने श्रेष्ठले जानकारी गराउनुभयो । शिक्षामन्त्री श्रेष्ठले संस्कृतिविद् जोशीको सम्पूर्ण उपचार खर्च सरकारले व्यहोर्ने पनि बताउनुभयो । जोशीको रेखदेख गर्न दुई कुरुवा सरकारले दिने घोषणा गरिसकेको उहाँको भनाइ थियो ।

जोशीले राष्ट्रपतिले आफूलाई सम्झेर भेट्न पठाएकोमा हर्षित भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘मुलुकमा उत्पादन भएका जति पनि लेखक, कलाकारहरू छन् र थिए, तीमध्ये लामो आयू बाँँच्ने म नै हुँ । राष्ट्रपतिले आफू जीवित छँदै आफ्नो नामको हुलाक टिकट छाप्न टाँचा लगाउँदा ज्यादै खुशी लाग्यो । मुलुकको पिछडिएको स्थान जहाँ बालबालिका अध्ययन गर्ने अवसरबाट वञ्चित भएका छन् त्यहाँ विद्यालय खोलियोस् भन्ने म चाहान्छु ।’

ललितपुर महानगरपालिकाले केही समयअघि आफ्नो नाममा चाँदी सिक्का निकालेर प्रयोगमा ल्याउँदा पनि ज्यादै खुशी लागेको जोशीले बताउनुभयो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मुलुकको महान व्यक्तित्व जोशीको नाममा आफूहरूले ललितपुरको पुल्चोक हुँदै मङ्गलबजार अनि सुन्धारा र त्यसपछि ग्वार्को जाने सडकलाई सत्यमोहन जोशी मार्ग नामकरण गरिसकेको बताउनुभयो ।