अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

तनहुँमा जनगणनाका लागि चार गुणा बढी आवेदन

तनहुँमा जनगणनाका लागि चार गुणा बढी आवेदन


तनहुँ- जनगणना २०७८ का तनहुँमा २ हजार ३४६ ले निवेदन दिएका छन् । जिल्ला जनगणना कार्यालयका अनुसार अनलाइनमा पूर्ण विवरण भरेर दरखास्त दिनेमध्ये महिलाको सङ्ख्या बढिरहेको छ ।

जिल्ला जनगणना अधिकारी नन्दलाल सापकोटाले तनहुँमा एक हजार ६२५ महिला, ७१९ पुरुष र दुई अन्य लिङ्गीको दरखास्त परेको जानकारी दिनुभयो । ‘जनगणनाका लागि आवश्यक भन्दा चार गुणा बढी निवेदन परेको छ, त्यसमध्ये पनि महिलाको सङ्ख्या अधिक छ,’ सापकोटाले भन्नुभयो ।

आवेदन दिनेमध्ये दुई सय आठ महिला र ८३ पुरुषले गणक र सुपरिवेक्षक दुवैका लागि फारम भरेका छन् ।

उहाँका अनुसार जिल्लामा ५३५ गणक र १२० सुपरिवेक्षक खटाइनेछ । ‘चैत १९ गतेसम्म प्राथमिक सूची पठाउने कुरा छ, त्यसपछि सङ्ख्या कति हुन्छ थाहा हुन्छ,’ उहाँले भन्नुभयो । जिल्लामा तथ्याङ्क सङ्कलन दुई चरणमा सञ्चालन गरिनेछ ।

पहिलो चरणमा विसं २०७८ वैशाख २६ गतेदेखि जेठ १४ गतेसम्म २० दिन सञ्चालन हुनेछ । उक्त क्रममा सुपरिवेक्षकद्वारा प्रत्येक घर तथा परिवारमा पुगी घर तथा घरपरिवार सूचीकृत फारममार्फत् घरसम्बन्धी विवरण, परिवारमा अक्सर बसोबास गरेका महिला तथा पुरुष र अन्य तेस्रो लिङ्गी तथा परिवारको कृषिसम्बन्धी विवरण सङ्कलन गरिनेछ ।

दोस्रो चरण जेठ २५ देखि असार ८ गतेसम्म १५ दिन सञ्चालन हुनेछ । उक्त क्रममा गणकमार्फत् प्रत्येक घर परिवारमा पुगी प्रश्नावलीमार्फत् पारिवारिक विवरण तथा व्यक्तिको जन्म, मृत्यु, बसाइँसराइलगायतका विवरण सङ्कलन गरिनेछ । दोस्रो चरणको गणना अन्तर्गत नै सबै स्थानीय तहका प्रत्येक वडा कार्यालयबाट वडास्तर सामुदायिक प्रश्नावलीमार्फत् वडाको आधारभूत स्रोत साधन, पहुँच, क्षमता, पूर्वाधार र विपद् सम्बन्धी विवरण पनि सङ्कलन गरिने छ । सोही क्रममा घरपालुवा पशुपक्षीको विवरण पनि सङ्कलन हुनेछ ।

जनगणनाबाट वडास्तरसम्मको लैङ्गिक तथा समावेशी तथ्याङ्क प्राप्त हुने भएकाले विकास निर्माणका काम तथा लक्षित वर्गका कार्यक्रम तर्जुमा गर्न तथा नीति र योजना बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।