अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

हाम्रो शिक्षा किसानका घरघरमा पुग्न सक्नुपर्छ : प्रधानमन्त्री ओली

हाम्रो शिक्षा किसानका घरघरमा पुग्न सक्नुपर्छ : प्रधानमन्त्री ओली


काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा राम्रो हुन शिक्षक राम्रो हुनुपर्ने बताउनु भएको छ ।

राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमका लागि छनोट भएका विद्यालयहरूसहितको प्रतिवेदन हस्तान्तरण गर्न बिहीबार बालुवाटारमा आयोजित कार्यक्रममा उहाँले शिक्षकको गुणस्तर ध्यान दिनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘शिक्षकको गुणस्तर माथि नउठाएसम्म विद्यार्थीको गुणस्तर बढ्न सक्दैन, शिक्षकले आफ्नो ज्ञानलाई सही रूपमा विद्यार्थीमा हस्तान्तरण गर्नुपर्छ ।’

विद्यार्थीको ध्यानाकर्षण गर्न सक्ने, विद्यार्थीले बुझ्ने गरी पढाउन सक्ने र आफ्ना विद्यार्थीप्रति उत्तरदायी हुने खालको शिक्षक हुनुपर्ने बताउँदै उहाँले भन्नुभयो, ‘बेलाबेलमा शिक्षकको गुणस्तरण परीक्षण गर्नुपर्छ, विद्यालयमा पनि उपयुक्त शैक्षिक वातावरण हुनुपर्छ ।’

प्राविधिक शिक्षालाई प्राथमिकतासाथ अगाडि लैजानुपर्ने बताउँदै प्रधानामन्त्री ओलीले भन्नुभयो, ‘किसानलाई जीवन बदल्ने सूत्र र सीप लिएर हाम्रो शिक्षा उनीहरूको घरघरमा पुग्न सक्नुपर्छ, कलिला बालबालिकालाई अनुत्तीर्ण घोषित गर्ने खाले होइन सक्षम नागरिक बनाउने खालको शिक्षाको विकास गर्नुपर्छ ।’

सक्षम, सुयोग्य र दक्ष नागरिक नै देशको ठूलो सम्पत्ति भएकाले सरकारले अब शिक्षालाई पछाडि फर्कन नदिन समेत प्रधानमन्त्री ओलीले बताउनुभयो ।

प्रधानमन्त्री ओलीले ज्ञान र पूर्वाधार दुवै दृष्टिले शिक्षा सक्षम बनाउन राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमले आधार तय गर्ने पनि बताउनुभयो । राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तरगत देशभरका ४ हजार २ सय ५० वटा विद्यालयलाई कक्षाकोठा, शौचालय, शैक्षिक सामग्री, सूचना प्रविधि, ल्याब तथा पुस्तकालयलगायत शीर्षकमा बजेट विनियोजन गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

उहाँले शिक्षा क्षेत्रको समग्र विकास र जनशक्ति उपयोगका लागि गुरुयोजना बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई निर्देशन पनि दिनुभयो ।