अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

लकडाउन गर्दैनौँ, तर अन्य कदममा कडाइ गर्छौं : मन्त्री त्रिपाठी

लकडाउन गर्दैनौँ, तर अन्य कदममा कडाइ गर्छौं : मन्त्री त्रिपाठी


काठमाडौं- सरकारले कोरोना रोकथामका लागि तत्काल लकडाउन नगर्ने भएको छ ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठीले सरकारले लकडाउन नगर्नेे बताउनुभयो । मंगलबार काठमाडौंमा आयोजित ‘नेपाल हेल्थ कनक्लेभ २०२१’ मा मन्त्री त्रिपाठीले भन्नुभयो, ‘कोरोना रोकथामका लागि सबै किसिमका कदम चाल्न सरकार तयार छ, तर लकडाउन गर्दैन ।’

सामाजिक जनजीवन र अर्थतन्त्रमा दीर्घकालिन असर पार्ने भएकाले लकडाउन गर्ने मनस्थितिमा सरकार नरहेको उहाँले प्रष्ट पार्नुभयो । लकडाउनभन्दा अगाडि गर्नुपर्ने सबै किसिमका प्रभावकारी र सुरक्षित कदमहरू चाल्न सरकार तयार उहाँको भनाइ छ ।

भारतमा कोरोना नयाँ लहर आएकाले नेपालले सीमानाकामा एन्टिजेन परीक्षण थालेको मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । सीमानाकामा आइसोलेशन र क्वारेन्टिन बनाउने काम पनि भइरहेको उहाँले बताउनुभयो ।

जनताको स्वास्थ्य सुरक्षाका लागि सरकार गम्भीर रहेको भन्दै उहाँले सोही अनुसार सरकारले काम गरेको जानकारी दिनुभयो । नेपालमा अहिले तीन खाले कोरोनाविरुद्धको खोप लगाउन स्वीकृति पाएको पनि उहाँले बताउनुभयो । चीनले दिएको कोरोनाविरुद्धको खोप भोलिदेखि प्राथमिकता प्राप्त व्यक्तिलाई लगाउन थालिने पनि उहाँले जानकारी दिनुभयो ।

लकडाउन नगरेपनि स्वास्थ्य सुरक्षा मापदण्ड कडाइसाथ पालना गराउने काममा सरकार लागिपर्ने मन्त्री त्रिपाठीले जानकारी दिनुभयो । कोरोनाबाट जोगिन स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण रूपमा पालना गर्नपनि उहाँले सबैलाई आग्रह गर्नुभयो ।