अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सांसद विष्टको दाबी : कर्णालीमा माओवादीको सरकार ढल्दैन

सांसद विष्टको दाबी : कर्णालीमा माओवादीको सरकार ढल्दैन


काठमाडौं-कर्णाली प्रदेशका माओवादी केन्द्रका सांसद ठम्मरबहादुर विष्टले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार नढल्ने दाबी गर्नुभएको छ । मुख्यमन्त्री शाहीलाई एमालेकै सांसदहरूले मत दिने उहाँको दाबी छ ।

आईएनएसँगको कुराकानीमा सांसद विष्टले भन्नुभयो, ‘राजनीति सम्भावनाको खेल हो, एमालेका सांसदहरूले हामीलाई मत दिन्छन् । त्यस्तो वातावरण बन्दैछ ।’

उहाँले अगाडि थप्नुभयो, ‘मुख्यमन्त्रीले राजीनामा दिने कुनै सम्भावना छैन, सरकारले विश्वासको मत लिन्छ र बहुमत पनि पाउँछ ।’

चैत ४ गते एमालेले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो । एमालेका तीनजना मन्त्रीले समेत सरकारबाट राजीनामा दिइसकेका छन् । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपा एमाले बाहेकका सबै दल एक हुँदा पनि बहुमत नपुग्ने अवस्था छ ।

सरकार बनाउन २१ जना सांसद चाहिन्छ । प्रदेश सभामा एमालेका सभामुखसहित २०, माओवादी केन्द्रका १३, कांग्रेसका ६, राप्रपाका एक जना सांसद छन् ।

यस्तो अवस्थामा मुख्यमन्त्री साहीलाई सरकार बनाउन २१ जना सांसद् चाहिन्छ । तर, माओवादीका सांसद धर्मराज रेग्मी एमाले प्रवेश गर्नुभएको छ । उहाँको संसद सदस्यता खारेज गर्न माओवादीले पत्राचार गरेको छ ।

रेग्मी सांसद रहनुभएन भने प्रदेश सभा ३९ सदस्यीय बन्नेछ । त्यसपछि २० जनाको बहुमतले सरकार बन्न सक्छ ।

शाहीको सरकार बचाउन एमाले सांसदहरूले फ्लोर क्रस गरेर विश्वासको मत दिनुपर्ने हुन्छ । सांसद विष्टले पनि एमाले सांसदले फ्लोर क्रश गर्ने दाबी गर्नुभएको छ ।