अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिपक्षीको विरोधले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित

प्रतिपक्षीको विरोधले प्रदेश १ को प्रदेशसभा बैठक स्थगित


विराटनगर- प्रदेश नं १ को प्रदेशसभाको आजको बैठक प्रतिपक्षी दलका सांसदहरूको विरोधका कारण स्थगन भएको छ ।

नेकपा माओवादीका तर्फबाट प्रदेश सांसद टङ्क आङ्बोले नेकपा (एमाले)मा प्रवेश गरेका कारण सो पार्टीका केन्द्रीय समितिले दलको विधान र ऐनविपरीत कार्य गरेको कारण देखाई सांसद् पदबाट खारेज गरेको पत्र सभामुख प्रदीपकुमार भण्डारीले सदनमा पढेर सुनाएपछि सांसदहरूले नियमापत्ती गरेका थिए ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)का सांसदहरूले नियमापत्ति गरेपछि सभामुख भण्डारीले बैठक स्थगन भएको जानकारी दिनुभयो । सभामुखले बैठक नियमित रूपमा सञ्चालन गर्न पटकपटक आग्रह गर्दा पनि सांसदहरूले उभिएर नै विरोध जनाएपछि आजको बैठक स्थगन गर्नु भएको हो ।

बैठक स्थगन हुनुअघि बोल्न समय पाएका कांग्रेस संसदीय दलका सचेतक सूयर्माराज राईले प्रदेश अहिले राजनीतिक र आर्थिक दुवै हिसाबले कमजोर भएको भन्दै विकास सञ्चालनका लागि स्रोतको सुनिश्चिता गर्न सरकारसँग माग गर्नुभयो । उहाँले जबसम्म सरकारले संसद्मा उठाइएका प्रश्नहरूको जवाफ दिँदैन, तबसम्म संसद् चल्न नदिने घोषणा गर्नुभयो ।

यसअघि आजको शून्य समयमा सांसद उमीता विश्वकर्माले निर्वाचन क्षेत्र विकास कार्यक्रम तथा विशेष निर्वाचन क्षेत्र विकास कार्यक्रम अविलम्ब सञ्चालन हुनुपर्ने माग गर्दै सरकारले महिला सशक्तीकरण र दलित विधेयक ल्याउन नसकेको आरोप लगाउनुभयो । अर्का सदस्य नारायणबहादुर मगरले प्रदेशमा बहुवर्षीय सडकका योजना अलपत्रमा परेको, रकमको अभावमा ठेक्का लिएका कम्पनी पनि भाग्न लागेकाले यसतर्फ सरकारको ध्यान जानुपर्ने बताउनुभयो ।

यस्तै, अर्का सदस्य रामचन्द्र लिम्बूले सरकारले ८५ प्रतिशत प्रगति गरेको विवरण सदनमा जानकारी दिए पनि त्यसअनुसारको काम नभएकाले बजेट कहाँ गयो जवाफ दिनुपर्ने बताउनुभयो ।  प्रदेशसभाको अर्को बैठक भोलि दिउँसो १ बजे बस्ने सभामुख भण्डारीले जानकारी दिनुभयो ।