अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीको भाषणभित्र फेला परेको एउटा कविता

प्रधानमन्त्रीको भाषणभित्र फेला परेको एउटा कविता


काठमाडौं- भाषणको समाचार बन्छ भने कविता पनि बन्छ । प्रधानमन्त्री केपी शर्मा ओलीले राजधानीमा आयोजित लोकतान्त्रिक योद्धा सम्मान कार्यक्रममा जे भाषण गर्नुभयो, त्यसभित्र एउटा दर्दनाक कविता पनि भेटियो ।

प्रधानमन्त्रीको अभिव्यक्तिको समाचार बनाउँदै जाँदा भाषणभित्र एउटा कविता फेला परेको छ । प्रधानमन्त्रीले लेख्नुभएको होइन, बोल्नुभएको सो कविता यस्तो छ :

आन्दोलनको टुप्पामा बसेर
दुःखकष्ट नगरिकन
एकदिन जेल नपरीकन
एकदिन भूमिगत नगईकन
विदेशका राम्रै प्रवन्धका ठाउँमा बसेर
आफूले आन्दोलनको नेतृत्व गरेको भन्ने
अरू बेहाल भइरहँदा
तिनीहरूको वास्ता नगर्ने ।

आन्दोलनमा दुःख भोग्दै नभोगेको
न कहिल्यै पिटाई खाएको छ
न कहिल्यै जेल गएको छ
कहिल्यै नेल हतकडी लगाएको छैन
कहिल्यै भोकै बस्न परेको छैन
क्रान्तिकारी कुरा गरेको छ
अरूलाई बहकाएको छ, भड्काएको छ, होमिदिएको छ,
त्यस्ता मान्छेहरूले यो पीडा बुझ्दैनन् ।

तर, हामीले पीडा भोगेका छौँ
खानै नदिएर डेढ महिनासम्म तुरुङमा थुनेर
लगातार कुटपिट गर्दा कस्तो हुन्छ भोगेका छौँ
कोही मान्छे देख्न भेट्न नपाउने गरी
चार वर्ष अँध्यारो कोठामा थुन्दा कस्तो हुन्छ
हामीले भोगेका छौँ
परिवारसँग विछोडिएर
आफन्तबाट विछोडिएर
१४-१५ वर्ष जेल बस्दा कस्तो हुन्छ ?

पीडा कस्तो हुन्छ?
आँशुको महत्व के हुन्छ?
यातना र दमन कस्तो हुन्छ?
हामीले भोगेका छौँ ।

युवाहरूलाई आवेशमा ल्याएर होमिदिने
परिवर्तनको आकांक्षा जगाएर होमिदिने
उनीहरूको जीवन बरवाद हुने
परिवार वरवाद हुने
उनीहरू मारिने
उनीहरू सहिद हुने
उनीहरूको लाशमाथि टेकेर आफूचाहिँ माथि जाने ।

जसले बलिदान गर्‍यो
उसको परिवारलाई केही प्राप्त नहुने
अंगभंग र क्षतविक्षत हुनेलाई केही प्राप्त नहुने
तिनका बाआमा वृद्धावस्थामा बेसहारा हुने
तिनका बालबच्चा बेसहारा हुने ।

नेपाली सेना बलिदान भएका छन्
प्रहरी र सशस्त्र प्रहरी बलिदान भएका छन्
माओवादी लडाकूहरू बलिदान भएका छन्
चुपचाप घरमा बसेकाहरुले मारिनुर्‍यो
विद्रोही, सरकारी र तटस्थ तीनवटैको पीडा एउटै हो
पीडाका यी घाउहरु अब मेटाउँदै जानुपर्छ
मल्हम लगाउँदै जानुपर्छ
समाधान गर्दै जानुपर्छ
आँशु पुछ्दै जानुपर्छ ।