अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बागलुङमा एकै विद्यालयका ३९ विद्यार्थीमा कोरोना संक्रमण

बागलुङमा एकै विद्यालयका ३९ विद्यार्थीमा कोरोना संक्रमण


बागलुङ- बागलुङमा एउटै विद्यालयका ३९ जना विद्यार्थीमा एकैपटक कोरोना संक्रमण देखिएको छ ।

बागलुङ नगरपालिका-१४ मा रहेको जनताधन माध्यमिक विद्यालयका ३९ जना विद्यार्थीमा एकैपटक संक्रमण पुष्टि भएको हो ।

विद्यालयका ९० जना विद्यार्थीको नमुना परीक्षण गर्दा ३९ जनामा संक्रमण देखिएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।

उहाँका अनुसार एक साताअघि गरिएको परीक्षणमा सात जना विद्यार्थीमा कोरोना देखिएको थियो । त्यसपछि सात दिनसम्म विद्यालय बन्द गरेर कन्ट्याक ट्रेसिङमा परेका विद्यार्थीको नमुना परीक्षण गर्दा थप ३९ जनामा संक्रमण पुष्टि भएको हो ।

सो विद्यालयमा नगरपालिकाका वडा नम्बर १२, १३ र १४ का विद्यार्थी अध्ययन गर्छन् । विद्यार्थीमा संक्रमण देखिएपछि तीन वटा वडालाई शिल गर्न लागिएको पौडेले बताउनुभयो ।

‘सो विद्यालयको प्रभाव क्षेत्र तीनवटा वडा हो, त्यसैले प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा बस्ने बैठकमा ती क्षेत्र शिल गर्ने प्रस्ताव लैजाँदै छौँ,’ उहाँले भन्नुभयो ।

एकैपटक धेरै संख्यामा विद्यार्थीलाई संक्रमण देखिएकाले कोरोना समुदायमा पुगेको उहाँले बताउनुभयो । संक्रमितमध्ये केही विद्यार्थीमा सामान्य ज्वरो, रुघाकोखी लगायत लक्षण देखिएको भए पनि अन्यको अवस्था भने सामान्य रहेको उहाँले बताउनुभयो ।