अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

झापाका अस्पतालमा धमाधम अक्सिजन प्लान्ट निर्माण गरिँदै

झापाका अस्पतालमा धमाधम अक्सिजन प्लान्ट निर्माण गरिँदै


झापा- कोरोना भाइरस (कोभिड-१९) संक्रमणको दोस्रो लहर तीव्र बनेकै बेला झापाको एक सरकारीसहित चार वटा अस्पतालले अक्सिजन प्लान्ट निर्माण गर्न थालेका छन् ।

मेची प्रादेशिक अस्पतालमा वैशाख महिनाभित्र सञ्चालनमा ल्याउने गरी प्रदेश-१ सरकारको ७५ लाख रुपैयाँ लगानीमा अक्सिजन प्लान्ट निर्माणाधीन छ ।

कोभिड-१९ सङ्क्रमितको उपचारका लािग ७५ शय्याको अलग अस्पतालसमेत सञ्चालन गरिरहेको मेची अस्पताल भद्रपुरमा रहेको छ । विर्तामोडमा निजी क्षेत्रबाट सञ्चालित बिएन्डसी हस्पिटल र ओमसाई पाथिभरा हस्पिटलले आफ्नै अक्सिजन प्लान्ट निर्माण गरिरहेका छन् ।

मनमोहन सामुदायिक अस्पतालले विगत चार महिनादेखि नै अक्सिजन प्लान्ट सञ्चालनमा ल्याइसकेको जनाएको छ । झापामा पहिलो अक्सिजन प्लान्ट सञ्चालन गर्ने मनमोहन सामुदायिक अस्पतालका निर्देशक रोमणि भट्टराईले दैनिक १८ वटा सिलिण्डर अक्सिजन उत्पादन भइरहेको बताउनुभयो ।

चार महिनाअघि शुभारम्भ कम्पनीसँगको साझेदारीमा प्लान्ट निर्माण गरिएको र उत्पादन हुन थालेपछि अक्सिजन बाहिरबाट खरिद गर्नुपर्ने झन्झटबाट अस्पतालमुक्त भएको उहाँले बताउनुभयो ।

उहाँका अनुसार अस्पतालले प्रतिमहिना १ लाख ९५ हजार रुपैयाँका दरले कम्पनीलाई रकम बुझाएपछि पाँच वर्षपछि मात्र प्लान्ट अस्पतालको स्वामित्वमा आउने शर्त रहेको छ । आवश्यक अक्सिजनका सिलिन्डर निजी सप्लायर्सबाट खरिद गर्दै आएका अस्पतालले आफ्नै प्लान्ट भएपछि अस्पतालमा अक्सिजनको अभाव नहुने र आपूर्ति व्यवस्था भरपर्दो हुने विश्वास लिएका छन् ।

मेची अस्पतालका लेखा अधिकृत मनोज पोखरेलका अनुसार दैनिक ३५ वटा सिलिण्डर भर्न सक्ने क्षमताको प्लान्ट बनाउन लागिएको छ । ठूला र साना गरी ४७ वटा अक्सिजन सिलिण्डर हाल अस्पतालमा रहेको र दैनिक २० देखि २५ वटासम्म खपत हुँँदै आएको छ ।

कोभिडका बिरामी बढ्दै जाँदा अक्सिजनको माग अरू बढ्ने उहाँले बताउनुभयो । बिएण्डसी हस्पिटलले पनि वैशाखभित्रै आफ्नै प्लान्टबाट अक्सिजन उत्पादन गर्ने जनाएको छ । रासस