अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सबैले स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्छ : मन्त्री श्रेष्ठ

सबैले स्वास्थ्य मापदण्डलाई पालना गर्नुपर्छ : मन्त्री श्रेष्ठ


चितवन- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले रहरले शिक्षण संस्था बन्द नगरिएको बताउनुभएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालयको मंगलबार हुने दीक्षान्त समारोहमा सहभागी हुन आज यहाँ आउनुभएका श्रेष्ठले भर्चुअल माध्यमबाट शिक्षण विधिलाई अगाडि बढाउन निर्देशन दिइएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘आजदेखि ‘ए’ लेभलबाट कुनै पनि परीक्षा नचलाउने निर्णय गरिएको छ ।’

उहाँले १ हजार ८ सय विद्यार्थीको भविष्यसँग जोडिएका कारण भर्चुअल माध्यमबाट विश्वविद्यालयको दीक्षान्त समारोह गर्न लागिएको प्रष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘विधि र प्रक्रिया पुर्‍याउनका लागि मात्र कार्यक्रम गर्नुपरेको हो ।’

तत्काल सरकार बन्दाबन्दीका पक्षमा नरहेको जनाउँदै उहाँले थप्नुभयो, ‘बन्दाबन्दी गर्नुपर्छ भन्ने पक्षमा अहिले सरकार छैन । स्वास्थ्य मापदण्डलाई पालना गरेर सबै हिँड्नुपर्‍यो ।’

परिस्थिति खतरा भयो भने बन्दाबन्दी पनि गर्नुपर्ने अवस्था आउन सक्ने उहाँको भनाइ थियो । मन्त्री श्रेष्ठले भन्नुभयो, ‘सरकार मात्र कराएर हुँदैन, जनता पनि सचेत हुनुपर्छ ।’

सबै मिलेर समाधानको बाटोतिर जानुको विकल्प नरहेको उहाँले बताउनुभयो । निराश भएर नआत्तिन अनुरोध गर्दै मन्त्री श्रेष्ठले उच्च मनोबलका साथ व्यवस्थापन गर्दै जानुपर्ने बताउनुभयो ।