अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसदीय समितिटोलीद्वारा वीर र पाटन अस्पताल निरीक्षण

संसदीय समितिटोलीद्वारा वीर र पाटन अस्पताल निरीक्षण


काठमाडौं- संसदीय समितिले वीर र पाटन अस्पतालको निरीक्षण गरी कोभिड–१९ का बिरामीलाई प्रदान गरिरहेको सेवा प्रवाहबारे जानकारी लिएको छ ।

प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति शशी श्रेष्ठको नेतृत्वमा गएको संसदीय टोलीले आज वीर अस्पताल र पाटन अस्पतालमा कोभिड–१९ का बिरामीको चाप र उपलब्ध सेवाबारे जानकारी लिएको हो । टोलीले ती दुवै अस्पतालको जनशक्तिको दरबन्दी, हाल कार्यरत जनशक्ति, सेवा प्रवाह र उपचारमा देखिएको चुनौतीबारे अस्पताल प्रमुखसँग जानकारी लिएको थियो ।

संसदीय टोलीलाई वीर अस्पतालका कार्यकारी निर्देशक डा शान्ता सापकोटा र पाटन अस्पतालका कार्यकारी निर्देशक डा रवी शाक्यले अस्पतालको भौतिकपूर्वाधार, जनशक्ति र उपलब्ध सेवाबारे जानकारी गराउनुभएको थियो । अस्पताल व्यवस्थापनले कोभिड–१९ का लागि छुट्याइएका शय्या, व्यवस्थपन गरिएको अक्सिजन, पीपीई र उपलब्ध सेवा सुविधाबारे जानकारी गराएको थियो ।

वीर अस्पतालले कोभिड–१९ का बिरामीलाई १०७ र पाटन अस्पतालले २५० श्यया व्यवस्थापन गरेको जानकारी दिइएको समितिका सचिव बविता मिश्रले बताउनुभयो । दुवै अस्पताल व्यवस्थापनले कोरोनाका बिरामीको उपचारका लागि चिकित्सकसहित नर्सको बढी आवश्यकता परेको जानकारी गरायो ।

वीर अस्पतालको अक्सिजन प्लान्ट लामो समयदेखि बन्द रहेकामा केही दिनदेखि सञ्चालनमा ल्याइए पनि पाटन अस्पतालको प्लान्ट भने अझै सञ्चालन हुन नसकेको जानकारी दिइयो । वीर अस्पतालको प्लान्टबाट दैनिक १५० सिलिन्डरसम्म अक्सिजन उत्पादन हुने बताइएको छ । पाटन अस्पतालले अन्य अस्पतालको तुलनामा सङ्क्रमणको जोखिममा रहेका सुत्केरीलाई सेवा उपलब्ध गराउँदै आएको जानकारी दिइएको छ ।

संसदीय टोलीले कोभिडका बिरामीको उपचारका लागि कुनै कसर बाँकी नराख्न सुझाव दिँदै अस्पताललाई परेको समस्या समाधानका लागि संसद्ले पहल गर्ने भएकाले लिखितरुपमा सुझाव उपलब्ध गराउन निर्देशन दिएको थियो । टोलीमा सदस्य देवेन्द्रराज कँडेल, लालबाबु पण्डित, प्रेम सुवाल, महेश्वरराज गहतराज र तीर्था गौतम सहभागी हुुनुहुन्थ्यो ।

समितिले आफ्नो सुशासनको कार्यक्षेत्रको पाटोबाट अस्पतालबाट हालको परिस्थितिमा उपलब्ध सेवा र भोगिरहेका समस्याबारे जानकारी लिने उद्देश्यले अनुगमन कार्य प्रारम्भ गरेको हो । समितिले केही दिनभित्रै अन्य अस्पतालको समेत निरीक्षण गर्ने छ ।