अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

जबजको मार्गदर्शन : समाजको रूपान्तरण

जबजको मार्गदर्शन : समाजको रूपान्तरण


नवीन विचारक जननेता मदन भण्डारी प्रणीत नेपाली क्रान्तिको मार्गदर्शक सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ले मार्क्सवादका सार्वभौम सच्चाइहरू, विभिन्न मुलुकहरूका लोकतान्त्रिक अभ्यासका अनुभवहरू, मानव जातिद्वारा सिर्जित सामाजिक मूल्य तथा मान्यताहरू, मानव अधिकारका विश्वव्यापी दृष्टिकोणहरूका मूलभूत पक्षहरू र नेपाली कम्युनिष्ट आन्दोलनका अनेकौँ आरोह अवरोहका निचोडहरूलाई आत्मसात गर्दै न्याय र समानतामा आधारित शोषणरहित समाज निर्माण गर्ने दृष्टिकोण अगाडि सारेको छ । सन् १९१७ मा सोभियत संघमा भएको पहिलो समाजवादी क्रान्तिको सफलतापछि विकसित विश्व समाजवादी प्रणालीलाई समेत मार्गदर्शन र थप सुदृढ तुल्याउन भूमिका निर्वाह गरिसकेको वैज्ञानिक सिद्धान्त मार्क्सवादको सिर्जनात्मक विचार जबज नेपालमा सामाजिक–आर्थिक रूपान्तरण गर्नसक्ने निर्विकल्प सिद्धान्तको रूपमा विकसित भएको छ । विभिन्न कोणबाट यस सिद्धान्तका विरुद्धमा चुनौति दिने कोशिसहरू नभएका होइनन् तर ती कामयावी बन्न सकेका छैनन् र भविष्यमा समेत ती अनुपयुक्त प्रयासहरू निष्प्रभावी नै हुनेछन् । त्यसैले समष्टिमा राष्ट्रको विकास र जनताको उन्नति गर्नसक्ने यस सिद्धान्तको व्यावहारिक प्रयोगसहित मुलुक सामाजिक–आर्थिक रूपान्तरणको यात्रामा अगाडि बढिरहेको छ ।

जबजका १४ विशेषता
विश्वव्यापीकरण प्रक्रियाले ल्याएका राजनीतिक, आर्थिक तथा सामाजिक प्रवृत्तिहरूको सहि विश्लेषण गरेर हाम्रो देशमा सामन्तवाद–साम्राज्यवाद पोषित शोषण–उत्पीडन तथा विकृति एवं विसंगतिलाई उन्मूलन गर्ने दृष्टिकोण अवलम्बन गरेको सिद्धान्त जबजका थप १४ वटा मुख्य विशेषताहरूको कार्यान्वयनबाट समन्यायिक, सुन्दर र सभ्य समाज निर्माण हुनेछ । अस्थायी रूपमै सही सोभियत मोडेलको समाजवादले धक्का खाएपछि विश्व कम्युनिष्ट आन्दोलनले व्यहोर्न बाध्य हुनुपरेका चुनौतिहरूबाट प्राप्त नकारात्मक शिक्षा र यस बीचमा क्रमिक रूपमा हासिल हुँदै गएका सफलताका अनुशरणयोग्य पक्षहरूको गहिरोसँग समीक्षा गरीकन मार्क्सवादको सिर्जनात्मक प्रयोग — जबजको विकास भएको हो । यस सिद्धान्तका महत्वपूर्ण विशेषताहरू — संविधानको सर्वाेच्चता, बहुलवादी खुला समाज, शक्ति पृथकीकरणको सिद्धान्त, मानव अधिकारको रक्षा, बहुदलीय प्रतिष्पर्धात्मक प्रणाली, आवधिक निर्वाचन, बहुमतको सरकार र अल्पमतको विपक्ष, कानूनको शासन, जनताको जनवादी व्यवस्थाको सुदृढीकरण, विदेशी पूँजी र प्रविधि, क्षतिपूर्ति, विदेश नीति, नेतृत्व र अधिनायकत्व तथा जनताको बहुदलीय जनवाद हुन् ।

सोभियत संघमा माक्र्सवादको पहिलो प्रयोग भएर स्थापना भएको सोभियत समाजवादी सत्ता त आज छैन तर विश्वका केही मुलुकहरूमा आफ्नो देशको विशिष्टतामा अहिले पनि समाजवाद समृद्ध भइरहेको छ । एउटा बुझ्नै पर्ने विषय के छ भने पूर्व समाजवादी मुलुकहरूमा पनि पूँजीवादले शान्ति, सुस्थिरता र समृद्धि दिन सकेन । बुर्जुवा पूँजीवादी शासनले भोक, गरिबी, तनाव र हिंसाबाट समाजलाई मुक्त गर्न सकेको छैन । यसको अर्थ समाजवादको विकल्प पूँजीवाद हुँदै होइन भन्ने कुरा पुष्टि भइरहेकै छ

जननेताले नेकपा (एमाले) को ऐतिहासिक पाँचौँ राष्ट्रिय महाधिवेशन (वि. सं. २०४९ माघ १४–२०) मा प्रस्तुत गर्नु भएको र यसको भव्यरूपमा अनुमोदन भएको तथा त्यसबखत नेपाली क्रान्तिको कार्यक्रमको नाम दिइएको ‘जनताको बहुदलीय जनवाद’ को विषयमा त्यस यता विषद् चर्चा र विमर्श हुँदै आएका छन् । जबजले क्रमिक रूपमा सफलता हासिल गर्दै गएको र हाम्रो देशको सन्दर्भमा यो दृष्टिकोण सिद्धान्तको तहमा विकसित बनेर मार्क्सवादको नयाँ संस्करणको रूपमा समृद्ध भएपछि यसउपर सर्वत्र छलफल हुनु स्वाभाविक हो । हिजो जबजका बारेमा फरक दृष्टिकोण राख्ने र विरोध गर्नेहरू समेत यसको पक्षमा आउन थालेका छन् । विभिन्न नाममा संगठित भएका कम्युनिष्ट पार्टीहरू समेत आफूलाई फरक देखाउनकै लागि भएपनि क्रान्तिको कार्यक्रमको नाम अलग राखेर जबजको सार र रूपको वरिपरि घुमेको पाइन्छ । यो जबजका पक्षधरहरूका निम्ति खुशी र प्रेरणाको विषय हो । तर यत्तिकैमा चित्त बुझाएर बस्नु भन्दा पनि यस सिद्धान्तको थप प्रचार प्रसार गर्दै बदलिएको परिवेशमा यसको रक्षा, प्रयोग र विकासका निम्ति क्रियाशील हुनु जबजका अनुयायीहरूको गहन दायित्व हुन आएको छ ।

समाजवादको विकल्प पूँजीवाद होइन
विश्वमा पूँजीवाद साम्राज्यवादमा पतन भइसकेपछि तेस्रो विश्वका आर्थिक अवस्था कमजोर भएका सामन्ती उत्पादन सम्बन्ध कायम भएका देशहरूका सत्तासँग साँठगाँठ गरेर, दलाल पूँजीवादसँग सहकार्य गरेर वा तिनलाई प्रभावमा पारेर साम्राज्यवादले नव–उपनिवेशवादी नीति मार्फत ती देशहरूको अमूल्य प्राकृतिक स्रोत साधनमाथि आधिपत्य कायम राख्न थाल्यो । सामन्तवादले पनि देशमा आफ्ना विरुद्ध उठ्ने जनलहर सामू टिक्नु पर्ने भएकाले नव–औपनिवेशिक प्रवृत्तिप्रति आँखा चिम्लिनु र साँठगाँठ गर्नु अनिवार्य ठान्यो । यस्तो अवस्थामा सामन्तवाद र साम्राज्यवादको शोषणको जुवाबाट मुक्त भएर स्वतन्त्र अर्थतन्त्र निर्माण गर्दै समुन्नत राष्ट्र निर्माण गर्नुपर्ने खाँचो त्यस्ता देशका जनताको काँधमा आयो । अर्थात् यस प्रकारको वर्गीय शोषण उत्पीडनबाट मुक्ति पाउनका लागि सर्वहारा श्रमजीवि वर्गको प्रतिनिधित्व गर्ने पार्टीले पहलकदमी लिनुपर्ने भयो । नेपाल यसबाट अछुतो हुने कुरा भएन र वि. सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भइकन सामन्तवाद साम्राज्यवाद विरोधी कार्यक्रमको सारतत्व बोकेको ‘नयाँ जनवादी कार्यक्रम’ अगाडि सारियो ।

सत्तरी वर्षको गौरवशाली इतिहास निर्माण गरिसकेको नेपाली कम्युनिष्ट आन्दोलनले अनेकौँ आरोह अवरोह पार गर्दै आफूलाई सुगठीत तुल्याउने कोशिस गरिरहेकै छ । सोभियत संघमा मार्क्सवादको पहिलो प्रयोग भएर स्थापना भएको सोभियत समाजवादी सत्ता त आज छैन तर विश्वका केही मुलुकहरूमा आफ्नो देशको विशिष्टतामा अहिले पनि समाजवाद समृद्ध भइरहेको छ । एउटा बुझ्नै पर्ने विषय के छ भने पूर्व समाजवादी मुलुकहरूमा पनि पूँजीवादले शान्ति, सुस्थिरता र समृद्धि दिन सकेन । बुर्जुवा पूँजीवादी शासनले भोक, गरिबी, तनाव र हिंसाबाट समाजलाई मुक्त गर्न सकेको छैन । यसको अर्थ समाजवादको विकल्प पूँजीवाद हुँदै होइन भन्ने कुरा पुष्टि भइरहेकै छ । विश्व समाजवादी प्रणालीले करिब १०५ वर्षको गौरवशाली इतिहास बनाइसकेको अवधिमा सन् १९९० मा सोभियत संघसहित पूर्वी युरोपका कतिपय मुलुकहरूमा सोभियत नमूनाको समाजवादले गम्भीर धक्का व्यहोरेपछि भने विश्व एकधु्रवीय बनेको छ र कम्युनिष्ट आन्दोलनसहित समाजवादी प्रणाली पनि रक्षात्मक अवस्थामा धकेलिएको छ ।

जबज समाज रुपान्तरणको प्रभावकारी सिद्धान्त
कम्युनिष्ट आन्दोलनले व्यहोरेका गम्भीर धक्कापछि कम्युनिष्ट पार्टीको नाममा आबद्ध भएकाहरू कुनै दक्षिणपन्थी विसर्जनवादी भए, कुनै उग्रवामपन्थी बने र कुनै भने विगतको गम्भीर समीक्षा गरीकन मार्क्सवादको सिर्जनात्मक विकासको दिशातर्फ लम्केका छन् । कम्युनिष्ट आन्दोलनको लोकतान्त्रीकरण गरिरहेका जबजका अनुयायीहरूले मार्क्सवादलाई आफ्नो देशको परिवेशमा सिर्जनात्मकढंगले लागू गर्ने प्रयास गरिरहेका छन् र तिनीहरूले सफलताका सिँढीहरू उक्लिरहेका छन् । नेपालमा त्यो सफलताको अभियानको नेतृत्व गरिरहेको पार्टी नेकपा (एमाले) नै हो । यस पार्टीका तत्कालिन महासचिव जननेता भण्डारीको अगुवाईमा प्रतिपादन भएको जबजले अंगीकार गरेको कार्यक्रमका बारेमा उहाँले भन्नुभएको छ — हाम्रो कार्यक्रम सामन्तवाद, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादविरोधी कार्यक्रम हो । हाम्रो क्रान्ति सामन्तवाद–साम्राज्यवादविरोधी क्रान्ति हो । चीन, कोरिया, भियतनाम र पूर्वी युरोपेली देशहरूमा यस्तै क्रान्ति भएको थियो । यी सबै ठाउँका क्रान्तिले सामन्तवादलाई उन्मूलन गरेर किसानहरूलाई मुक्त पार्ने र साम्राज्यवादको सबै प्रकारका हस्तक्षेपलाई समाप्त पारेर राष्ट्रिय स्वाधीनता प्राप्त गर्ने काम गरेको थियो ।

यसरी सामन्तवाद, साम्राज्यवाद र दलाल नोकरशाही पूँजीवाद विरोधी सार र रूप बोकेको जबज आज एउटा लोकप्रिय र प्रभावकारी समाज रूपान्तरणको सिद्धान्तको स्तरमा विकसित भएको छ भने यस घटनालाई विभिन्न देशका कम्युनिष्ट पार्टी र मार्क्सवादी बुद्धिजीविहरूले पनि गहनरूपमा हेरिरहेको र यसबाट प्रभावित बनिरहेको कुरा सार्वजनिक भइरहेको छ ।

आज जननेताको भौतिक उपस्थिति नभए पनि उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त जबज नेपाली जनताको साथमा छ । उहाँले छाडेर जानुभएको यस अमूल्य वैचारिक नासोलाई कार्यान्वयन गर्दै अघि बढ्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य साकार हुनेमा अलिकति पनि आशंका लिनु पर्दैन ।

मुलुकमा सामन्तवाद–साम्राज्यवादलाई समाप्त पारेपछि त्यहाँ राष्ट्रिय स्वाधीनता हासिल गर्ने दिशामा निर्णायक भूमिका खेल्दै स्वतन्त्र र स्वावलम्बी अर्थतन्त्र निर्माणको बाटोमा जनवादी क्रार्यक्रमले मार्गदर्शन गर्दछ । यस कार्यक्रमले सामन्ती भूस्वामित्वको उन्मूलन गर्दै वास्तविक किसानलाई जमीनको मालिक बनाउँदै भूमिसुधारलाई प्रभावकारी तुल्याउँछ, चक्लावन्दीलाई प्रोत्साहित गर्दछ र समग्रमा कृषिको आधुनिकीकरण र व्यावसायीकरणमा जोड दिन्छ । साथै यसले घरेलु आवश्यकताको परिपूर्ति गर्न र आयात प्रतिस्थापन गर्न उद्योगको विकासमा व्यापक जोड दिँदै औद्योगीकरण प्रक्रियालाई तीब्रता दिन्छ, आयात प्रतिस्थापन गरी व्यापार घाटा समाप्त पार्दछ, कृषि आधारित उद्योगलााई व्यापक बनाउँछ र समाजवाद निर्माणको आधार सिर्जना गर्दछ ।

जबजले बहुदलीय प्रतिष्पर्धालाई अवलम्बन गरेको विषयमा जननेताले विभिन्न तर्कहरू अगाडि सार्नु भएको छ । विगतमा नयाँ जनवादी कार्यक्रमलाई लागू गर्ने सन्दर्भमा विभिन्न देशमा एकदलीय परिपाटी अवलम्बन गरियो । कतिपय समाजवादी मुलुकमा कम्युनिष्ट पार्टीको नेतृत्वमा अन्य दलहरूलाई समेत समन्वय गरेर अगाडि बढ्ने अवस्था पनि रह्यो । जनवादी व्यवस्थामा वर्गहरू हुन्छन् र बहुल विचारहरू पनि हुन्छन् । यस्तो अवस्थामा तिनको प्रतिनिधित्व गर्ने राजनीतिक पार्टी खोल्न पाउनु पर्ने र त्यस अनुरूप राजनीतिक गतिविधिमा तिनले सामेल हुन पाउनु पर्ने मान्यता जननेताले अगाडि सार्नुभयो । प्रतिष्पर्धा र पहलकदमीद्वारा नै कम्युनिष्ट पार्टीले शासनसत्ता सञ्चालन गरेर राष्ट्र र जनताको सेवा गर्नुपर्दछ भन्ने दृष्टिकोण जबजको हो । यो कुरा मार्क्सवादी द्वन्द्ववाद अनुरूप पनि छ ।

नयाँ जनवादी कार्यक्रम र जनताको बहुदलीय जनवादी कार्यक्रमका बीचमा विभिन्न किसिमका भिन्नता भएकाले त्यसको समेत आँकलन गर्दै र जबजको सार र रूप दुबै पक्षलाई झल्काउने हिसाबले जननेताले कार्यक्रमको नाम नै सिर्जनात्मक र मौलिक रूपमा फरक ढंगले तय गर्नुपर्छ भन्नुभयो । यसलाई थप स्पष्ट पार्न उहाँ भन्नुहुन्छ –सारतत्व र आफ्ना थप विशेष कुराहरू समेत समावेश गरेर ‘जनताको बहुदलीय जनवाद’ भनेको हो । सामान्यतया जुनसुकै विशेषणका साथ जनवादको उल्लेख गरिए पनि हाम्रो कार्यक्रमको स्वरूप र सार दुबैलाई सटीकढंगले उल्लेख गर्दा हाम्रो क्रान्तिको कार्यक्रमको नाम ‘जनताको बहुदलीय जनवाद’ हुनुपर्छ । परिवर्तित राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्थितिमा हामीले आफ्ना विचारहरूलाई यसरी नै कार्यक्रममा प्रस्तुत गरेका छौँ ।

जननेता हुनुहुन्न तर जबज छ
आज जननेताको भौतिक उपस्थिति नभए पनि उहाँले प्रतिपादन गर्नुभएको सिद्धान्त जबज नेपाली जनताको साथमा छ । उहाँले छाडेर जानुभएको यस अमूल्य वैचारिक नासोलाई कार्यान्वयन गर्दै अघि बढ्दा ‘समृद्ध नेपाल, सुखी नेपाली’ को साझा लक्ष्य साकार हुनेमा अलिकति पनि आशंका लिनु पर्दैन । जननेताको स्मृति दिवश मनाइरहँदा उहाँको आदर्शयुक्त व्यक्तिबाट प्रेरणा लिँदै जबजको सुदृढीकरणमा बुद्धिमत्तापूर्णढंगले क्रियाशील हुने संकल्प गर्नु सम्बद्ध सबैको दायित्व हो ।
(डा.अधिकारी राष्ट्रपतिका प्रमुख स्वकीय सचिव हुनुहुन्छ)