अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्राकृतिक स्रोतको अधिक दोहनले वातावरणीय असन्तुलन

प्राकृतिक स्रोतको अधिक दोहनले वातावरणीय असन्तुलन


काठमाडौं राष्ट्रपति विद्यादेवी भण्डारीले विश्व वातावरण दिवस (जुन ५) लाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताउनुभएको छ ।

आजको दिनले सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न नेपालले विभिन्न अन्तरराष्ट्रिय मञ्चमा राखेका विषय र गरेका प्रतिबद्धता कार्यान्वयन गर्नका लागि थप उत्प्रेरणा दिने विश्वास उहाँले वयक्त गर्नुभएको हो ।

मानिसले गरेका प्राकृतिक स्रोतको अधिक दोहनका कारण वरिपरिको पारिस्थितिकीय प्रणालीमा नै असन्तुलन उत्पन्न भएकाले त्यसलाई पुनःस्थापना गर्न प्रकृतिमुखी जीवनशैली अपनाउँदै वातावरण सुधारका गतिविधि प्रवद्र्धन गर्न राष्ट्रपतिले सबैमा आह्वान गर्नुभएको छ ।

 

 

प्रचुर जैविक विविधतासहित प्राकृतिक सम्पदाले सम्पन्न नेपालमा पूर्वाधारको विकास गर्दा दिगो विकासका अवधारणालाई आत्मसात् गर्दै अगाडि बढ्न सके ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्नमा सहयोग पुग्ने विश्वास राष्ट्रपति भण्डारीको छ।

दिवस मनाउने सन्दर्भमा गरिने सामुदायिक सरसफाइ, वृक्षरोपणलगायत सिर्जनात्मक क्रियाकलापमा जनस्वास्थ्यका मापदण्डप्रति सजग र सुरक्षित भई सहभागी हुन राष्ट्रपतिले सबैलाई आह्वान गर्नुभएको छ ।