काठमाडौं- सभामुखको रुलिङपछि सांसदका प्रश्नको तयार भएका प्रधानमन्त्री वालेन्द्र शाहलाई आज ११ जना साँसदले प्रश्न सोध्धैछन् । उनलाई आफ्नै पार्टी रास्वपाका तीनजना सहित ११ जना साँसदले प्रश्न सोध्ने तयारी गरेको संसद सचिवालयले जनाएको छ ।
सत्तारूढ रास्वपाबाट अमरेशकुमार सिंह, समीक्षा बाँस्कोटा र कृष्णहरि बुढाथोकीले प्रश्न दर्ता गराएका छन् । रास्वपा सांसद सिंहले राजनीतिबाहिर केन्द्रित रहेर तराई–मधेशको जनजीविकाका विषय उठाउँदै छन् । किसानले मन किन पाएनन् ? स्वास्थ्य र शिक्षा सर्वसुलभ कहिले पाइन्छ ? महँगी नियन्त्रणको योजना के छ रु सीमामा भन्सारको नाममा नागरिकले सास्ती कहिलेसम्म पाउने ? लगायत प्रश्न गर्दै छन् । रास्वपाकै बाँस्कोटाले देशमा पछिल्ला समय भइरहेका घटनालाई जोडेर संस्थागत कानुनी सुधारका विषयमा प्रश्न गर्दै छिन् भने बुढाथोकीका जनसंख्या वृद्धि, त्यसबाट हुने लाभ, युवा जनशक्तिको उपयोग, समृद्धि, अर्थतन्त्र, रोजगारीसँग सम्बन्धित प्रश्न छन् ।
त्यस्तै, प्रमुख प्रतिपक्षी कांग्रेसबाट बासना थापा र गीता गुरुङले प्रश्न दर्ता गाएका छन् । थापाले नेपाल–भारत सीमाबारे प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, भ्रष्टाचार नियन्त्रण, सुशासन, महँगी, ग्यास अभावबारे प्रश्न उठाउँदै सरकारको धारणा माग्दै छिन् । त्यस्तै, गुरुङका प्रश्न सुकुमवासी, भूमिहीन, अव्यवस्थित बसोबासीको समस्यामा केन्द्रित छ । काठमाडौंका सुकुमवासीलाई किन उठाइयो, होल्डिङ सेल्टरमा किन अलपत्र पारियो, अहिले अवस्था के छ, कहिले लालपुर्जा वितरण हुन्छ जस्ता प्रश्न उठाउँदै छिन् ।
एमालेबाट ऐनबहादुर महर र गणेशसिंह ठगुन्नाका प्रश्न छन् । महरले प्रधानमन्त्रीको कार्यशैलीमाथि नै प्रश्न उठाउँदै संविधान र लोकतन्त्रप्रतिको प्रतिबद्धताबारे जवाफ माग्दै छन् । लोकतन्त्र, विधिको शासन, कानुनी राज्यको तादत्म्यता प्रधानमन्त्रीको कार्यशैलीसँग नमिलेको र निरंकुशताको यात्रामा हिँडेको त होइन भन्ने उनको प्रश्न छ । स्वास्थ्य, शिक्षा, रोजगारीको प्रतिबद्धता, विदेशबाट युवा फर्काउने योजनालगायत विषयलाई पनि महरले प्रश्नमा समेटेका छन् । त्यस्तै, ठगुन्नाले राष्ट्रियता, भौगलिक अखण्डताको विषयलाई जोडतोडले उठाउँदै छन् । प्रधानमन्त्री शाहले ‘नेपालले पनि भारतको जमिन मिचेको रहेछ’ भनेर दिएको अभिव्यक्तिमा स्पष्टीकरण माग्दै दार्चुलाको लिम्पियाधुरा, लिपुलेक, कालापानीको भूमिको विषय पनि प्रश्नमा समेटेका छन् । उनले भूमि फिर्ता ल्याउन भारतसँग वार्ता कसरी भइरहेको छ, के पहल भइरहेको छ भनेर प्रश्न सोध्दै छन् ।
नेकपाबाट वर्षमान पुन र प्रमेशकुमार हमालले प्रश्न पठाएका छन् । पुनले पुँजी पलायन रोक्ने र लगानीकर्ताको सुरक्षाका सन्दर्भमा प्रश्न गर्दै छन् । त्यस्तै, मल, ग्यास र पासपोर्टको लाइन अन्त्य कहिले हुन्छ भनेर प्रश्न टिपाएका छन् । हमालले भने सीमासम्बन्धी प्रश्न दर्ता गराएका छन् । प्रधानमन्त्रीले संसद्मै बोलेको अभिव्यक्ति स्मरण गराउँदै नेपालको सीमा कति हो, अतिक्रमित गरेको कहाँ हो भनेर प्रश्न उठाउँदै छन् ।
श्रम संस्कृति पार्टीका हर्कराज साम्पाङ राई र राप्रपाकी खुश्बु ओलीको प्रश्नको पनि प्रधानमन्त्री शाहले सामना गर्नुपर्नेछ । साम्पाङले पछिल्ला घटनामा केन्द्रित रहेर सरकार र प्रधानमन्त्रीको कार्यशैलीमाथि प्रश्न उठाउँदै छन् । सीमाका सम्बन्धमा प्रधानमन्त्रीले दिएको अभिव्यक्ति, कालापानी र सुस्तामा नागरिकमाथि भएको ज्यादतीका विषयदेखि भ्रष्टाचार र सुशासनका सम्बन्धमा पनि प्रश्न गर्दै छन् । राप्रपाकी ओलीले भने ०८३र८४ मा उल्लेखित करको दायराप्रति असन्तुष्टि जनाउँदै प्रश्न गर्दै छिन् । स्वास्थ्य, शिक्षा, बिजुलीमा कर के आधारमा लगाइयो ? यसले उपभोग, उत्पादन र स्वरोजगारको विषयलाई कसरी असर पारेको छ, जनताको जनजीवनमा कस्तो असर पारेको छ भन्ने उनको प्रश्न छ ।


प्रतिक्रिया