काठमाडौं-धादिङबेँसीबाट गोसाइँकुण्ड तीर्थयात्री लिएर गएको बस सम्पर्कविहीन भएको छ। बुधबार बिहान धादिङबेँसीबाट गोसाइँकुण्डतर्फ रिजर्भमा गएको बा ५ ख १२५० नम्बरको बेस्ट बसमा सवार २५ यात्रु र चालक सम्पर्कविहीन भएका हुन्।
धादिङ मण्डली यातायात प्रालिद्वारा सञ्चालित उक्त बसमा नीलकण्ठ नगरपालिका-१२ का दयाराम लम्साल, सीता लम्साल, ठाकुर लम्साल, शारदा लम्साल, प्रकाश लम्साल र इन्दिरा लम्साल सवार रहेको बताइएको छ।
त्यस्तै, नीलकण्ठ नगरपालिका-९ का राम लम्साल, जानुका लम्साल, कृष्णप्रसाद खनाल, राधिका खनाल, रामचन्द्र खनाल, भगवती खनाल, शिवहरी लम्साल, गायत्री लम्साल, नारायणप्रसाद लम्साल, सीता लम्साल, राजन लम्साल र न्याउरी लम्साल रहेका छन्।
यसैगरी सिद्धलेक गाउँपालिका–१ का हरिप्रसाद सिलवाल, बिन्दा सिलवाल, घनश्याम भट्ट र कल्पना भट्ट तथा नीलकण्ठ नगरपालिका–३ का सीता तिवारी, तुल्सी तिम्ल्सिना र ईश्वरी तिम्ल्सिना पनि बसमा सवार रहेको बताइएको छ।
बसका चालक नीलकण्ठ नगरपालिका–१२ का छविलाल श्रेष्ठ हुन्। उनी नै बसका धनी तथा धादिङ मण्डली यातायात प्रालिका सञ्चालकसमेत रहेको समितिका प्रबन्धक राजेश प्रजापतिले जानकारी दिए।
प्रजापतिका अनुसार रसुवामा बाढी आएको खबर पाएपछि बुधबार बिहान १०ः३५ बजे चालक श्रेष्ठलाई फोन गरिएको थियो। त्यतिबेला फोनको घण्टी गए पनि त्यसपछि पुनः सम्पर्क हुन नसकेको उनले बताए।
बस र यात्रुहरूको अवस्थाबारे अहिलेसम्म कुनै जानकारी प्राप्त हुन नसकेको प्रजापतिले बताए। बस तथा यात्रु सम्पर्कविहीन भएपछि धादिङ मण्डली यातायात समितिले खोजी तथा उद्धारका लागि सम्बन्धित निकायसँग सहयोग मागेको छ।
समितिले बसमा सवार यात्रु वा चालकसँग सम्पर्क भएका व्यक्ति अथवा बसको पछिल्लो अवस्थाबारे कुनै जानकारी पाएका व्यक्तिलाई तत्काल धादिङ मण्डली यातायात समिति वा नजिकको सुरक्षा निकायलाई जानकारी गराउन अनुरोध गरेको छ।


प्रतिक्रिया