अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अगस्टदेखि फाइजरको ५० करोड डोज खोप वितरण गर्दै अमेरिका

अगस्टदेखि फाइजरको ५० करोड डोज खोप वितरण गर्दै अमेरिका


वासिङ्टन- संयुक्तराज्य अमेरिकाले आगामी अगस्ट महिनादेखि विश्वका ९२ मुलुकका लागि फाइजरले उत्पादन गरिरहेको ५० करोड डोज खोप बितरण सुरु गर्ने जनाएको छ ।

ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गर्नु भएको छ ।

कोरोना महामारीविरुद्ध लड्न यस ऐतिहासिक अभियानले ठूलो मद्दत पुग्ने ह्वाइट हाउसले जनाएको छ । यो खोप सन् २०२१ को अगस्टबाटै विभिन्न मुलुकका लागि ढुवानी हुन थाल्नेछ ।

‘यस वर्षको अन्त्यसम्ममा २० करोड डोज खोप वितरण हुनेछ भने बाँकी ३० करोड डोज सन् २०२२ को पहिलो छ महिनाभित्रै ढुवानी भइसक्ने छ,’ ह्वाइट हाउसको विज्ञप्तिमा उल्लेख छ ।

संयुक्तराज्य अमेरिकाले यसअघि नै कम्तिमा आठ करोड डोज खोप वितरण गर्ने घोषणा गरिसकेको छ र उक्त खोप यही जुन महिनाभित्रै वितरण गर्ने योजना छ ।

कुनै पनि मुलुकले कोभिड विरुद्धको खोप यतिठूलो परिणाममा उपलब्ध गराउने घोषणा गरेको यो पहिलो अवसर हो ।

संयुक्तराज्य अमेरिकाले वितरण गर्ने घोषणा गरिसकेको आठ करोड डोज खोपमध्ये करिब ७५ प्रतिशत खोप कोभाक्समार्फत वितरण हुनेछ जबकी २५ प्रतिशत खोप तत्काल आवश्यक पर्ने र संक्रमण बढी देखिएका मुलुकलाई वितरण गरिने छ ।

झण्डै एक करोड ९० लाख डोज खोप कोभाक्सलाई प्राप्त हुनेछ । करिब ६० लाख डोज खोप दक्षिण र मध्य अमेरिकी मुलुकहरूले प्राप्त गर्नेछन् ।